‘छोरा भन्दा कम छैनन् जिम्मेवारी र कर्तव्यमा छोरीहरु’

हिमाली आवाज । छोरा हुँदैमा सवै थोक हुन्छ भन्ने हाम्रो समाजको रीतिथिती र परम्परालाई यहाँका दुई छोरीहरुले चुनौती दिएका छन् ।
छोरा नभएपनि आमाप्रति जिवित हुँदा र मृत्यु भएपछि छोराले गर्नुपर्ने सवै व्यवहार देखाएर उनीहरु समाजका लागि पनि अनुकरणीय बनेका हुन् ।
पोखरा महानगरापलिका वडा नं. १७ पाण्डवटोलस्थित स्वर्गीय आमा तिल कुमारी ढकालकोे स्याहार सुसार र मृत्यु पश्चात अन्तिम संस्कार गरेर जन्मदिने आमाप्रति छोरीहरु अप्सरा ढकाल र तुलसी ढुङ्गानाले सन्तानको जिम्मेवार भूमिका निर्वाह गरेका हुन् ।

२०६१ साल फागुन ७ गते दुर्घटनामा परि एउटा खुट्टा गुमाउनु भएकी स्वर्गीय आमा ढकालको जिवित भएसम्म उपचारदेखि पालनपोषण गरेर सन्तानले आमाप्रति गर्नुपर्ने दायित्व पूरा गरेका छोरीहरुले मृत्यपछि गरिने संस्कार समेत पुरा गरेका छन् ।

उमेरले ४२ बर्षीय अविवाहित कान्छी छोरी अप्सराले सेतो पहिरनमा रहि नियमित काजक्रिया गरिरहनु भएको छ । विवाह भएर पनि आमासंगै रहँदै आउनु भएकी जेठी छोरी तुलसीले ठाडो क्रियामा वस्नुभएको छ ।

“छोरा वा छोरी दुवै वरावरी हुन छोरा नभएर के भयो त महिले छोराले गर्ने सवै काजकृयाको संस्कार गरेकी छु” उहाँले भन्नुभयो, “छोरा नै हुनु पर्दछ भन्ने हाम्रो समाजको नकरात्मक सोच परिवर्तन गर्नु आवश्यक छ ।”

उहाँहरुले शारिरीकरुपमा अपाङ्ग आमाको जिवित अवस्थामा स्यहार सुसार लगायत सवै कुराहरु गरेको र मृत्यु पश्चात काजक्रिया पनि संस्कार अनुसार नै गरेको छिमेकीहरु बताउँछन् । आमाको ७८ बर्षको उमेरमा यही माघ २० गते आप्नै निवासमा निधन भएको हो ।

Comments
Loading...