नेपाली सेनाका राजन रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

हिमाली आवाज । नेपाली सेनाका राजन रोकायाले १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल हुनुभएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधि सहित नगद रु दुई लाख तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो । यसैगरी द्धितीय र तृतीय स्थानको उपाधि समेत सेनाका धावकहरुले प्राप्त गर्नुभयो ।

सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार रु ७५ हजार प्राप्त गर्नुभयो ।

पाँचथरका प्रदीप तामसङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थान सहित रु २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्न सफल हुनुभएको छ ।

यस वर्ष पहिलो पटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईले हाफ म्याराथनको उपाधि जित्न सफल हुनुभयो ।निर्धारित दूरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी उहाँले रु एक लाख र ट्रफी पुुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी जुम्लाका राममाया बुढाले एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्धितीय स्थान हासिल गर्न सफल भई रु ७५ हजार पुुरस्कार प्राप्त गर्नुभयो ।सशस्त्र प्रहरी बलका व्रिन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गर्नुभयो । उहाँले रु ५० हजार पुरस्कार पाउन सफल हुुनुभयो ।

नेपाल प्रहरीका रेखा विष्टले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्थान प्राप्त गरेर रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएकामा म्याराथनमा २०९ र महिलाको हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

विगतमा संस्करणमा विदेशी धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन । गत संस्करणको उपाधि जापानका खेलाडीले जित्न सफल हुनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश र पोखरालाई खेल पर्यटनको राजधानी बनाउनका लागि विभिन्न सङ्घ संस्थाले गर्ने प्रतियोगिताले मद्धत पुगेको बताउँदै प्रदेश सरकार खेलकूद विकासमा प्रतिवद्ध रहेको बताउनुभयो ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चूनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको मञ्चका अध्यक्ष गुरुङले बताउनुभयो ।

विगतका संस्करणमा म्याराथन सहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरुलाई फरक फरक मितिमा आयोजना गरिएको मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले जानकारी दिनुभयो।

Comments
Loading...