टाइगर कप राष्ट्रिय भलिबलको उपाधि गण्डकी र पुलिसलाई 

हिमाली आवाज । पोखरामा आज सम्पन्न टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेश तथा महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि जितेका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेशले राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा पराजित गरी च्याम्पियन बन्न सफल भएको हो ।

अत्यन्त्त प्रतिष्पर्धात्मक र रोमाञ्चक खेलमा गण्डकीले पहिलो सेट २५–२२ अङ्कमा जित्न सफल भएकामा दोस्रो सेट २१–२५ मा गुमायो । तेस्रो सेट गण्डकीले ३२–३० मा जित्न सफल भयो भने आर्मीले चौथो सेट २५–२३ अङ्कले जितेको थियो ।

अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–११ अङ्कमा आर्र्मीलाई पराजित गरी उपाधि सहित नगद रु एक लाख ५० हजार,ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्राप्त ग¥र्यो । उपविजेता बनेको आर्मीले रु ७५ हजार तथा ट्रफीमा चित्त बुझाउन बाध्य बन्यो । घरेलु मैदान र दर्शकको राम्रो साथ पाएको गण्डकीले आर्र्मीलाई दवावमा राखेको थियोे ।

यसैगरी महिलातर्फको उपाधि भिडन्तमा दुई विभागीय टोली बीचको खेलमा नेपाल प्रहरीको नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गरी पहिलो संस्करणको प्रतियोगिताको उपाधि सहित नगद रु एक लाख ५० हजार र ट्रफी पुरस्कार आफ्नो पोल्टामा पारेको हो ।

पुलिसले एपिएफमाथि पहिलो र दोस्रो सेट समान २५–२२ र तेस्रो सेट २५–२१ अङ्कले जित्न सफल भएको थियो । उपविजेता बन्न सफल एपिएफले नगद रु ७५ हजार, ट्रफी र प्रमाणपत्र पुरस्कार पायो ।प्रतियोगितामा महिलातर्फ न्यू डायमण्ड काठमाडौँले तृतीय स्थान हासिल गर्न सफल भई रु ३५ हजार र त्रिभुवन आर्मीले सान्त्वना स्थान प्राप्त गरी रु १५ हजार पुरस्कार प्राप्त गरे ।पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो स्थान हासिल गरी रु ३५ हजार पुरस्कार पाउँदा एपिएफले सान्त्वना पुरस्रकार रु १५ हजार पायो ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसका उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु २० हजार पुरस्कार प्राप्त गर्नुभयो भने पुरुषतर्फ गण्डकी प्रदेशका घनश्याम चौधरी उत्कृष्ट खेलाडी घोषित भई समान रु २० हजार पुरस्कार प्राप्त गर्नुभएको प्रतियोगिता आयोजक टाइगर गुप्र अफ पोखराका सचिव प्रकाश बरालले जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट विधामा महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफका सरस्वती चौधरी, ब्लकर एपिएफका हिरा केसी, सर्भर न्यू डायमण्डका प्रतिभा माली, सेटर नेपाल प्रहरीका कमला पुन, डिफेण्डर नेपाल प्रहरीका शान्तिकला तामाङ र उत्कृष्ट प्रशिक्षक नेपाल प्रहरीका रुपेश विष्ट घोषित हुुनुभएकाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

पुरुषतर्फको उत्कृष्ट पाँच विधामा उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, सर्भर आर्मीका शरण सामरि क्षेत्री, स्पाकइर आर्मीका धनबहादुर भट्ट, डिफेण्डर गण्डकीका राजन दर्लामीमगर र प्रशिक्षक गण्डकीका रमेश केसी चुनिनुभई जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, ग्रुुपका अध्यक्ष नारायण शर्मा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

Comments
Loading...