‘मुख्यमन्त्री कप’गण्डकी प्रदेशस्तरीय भलिबलको तयारी पूरा

हिमाली आवाज । पोखरामा आयोजना हुने ‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी पूरा भएकोे छ ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा यही फागुन ४ देखी ८ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सकिएको आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको तयारी पूरा भएको र मनाङ बाहेक गण्डकीका १० जिल्लाबाट महिला तथा पुरुष दुबै टोलीले सहभागिता जनाउने छन् । मनाङबाट भने चिसोका कारणले खेलाडी उपलव्ध हुन नसकेका कारण टिम दर्ता नभएको बताइन्छ ।

भलिबल खेलका माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने, उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने र आसन्न नवौँ राष्ट्रिय खेलकूदका लागि उत्कृष्ट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा कम्तिमा एक महिना राखी प्रदेशको उत्कृष्ट टोली तयार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ ।

‘लिग कप नकआउट’का आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेता महिला र पुरुष दुबै टोलीले समान रु दुई लाख सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो।
यसैगरी तृतीय टोलीले रु ५० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद रु पाँच÷पाँच हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले जनही रु पाँच हजारका दरले पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको नयाँ मिति देशको राजनीतिक परिस्थितिको आकलनपछि घोषणा गरिने बताउनुभएको छ ।

आगामी वर्ष मङ्सिर वा फागुन महिनामा राष्ट्रिय खेलकूद आयोेजना गरिने जानकारी दिँदैै विसं २०७८ भित्रमा आयोजना गरिने उहाँले स्पष्ट पार्नुभयो ।

“हामी मुलुकको स्थिति हेर्देछौँ, सर्वोच्च अदालतको फैसला पनि कुरेका छौँ । सर्वोच्चले वैशाख १७ र २७ मा चुनाव हुन्छ भन्छ की संसद् पुनःस्थापना गर्छ ।”सदस्य सचिव सिलवालले भन्नुभयो,“ अर्को वर्ष स्थानीय तहको समेत निर्वाचन हुने भएकाले सरसल्लाह गरेर चुनावसँग नजुध्ने गरी राष्ट्रिय खेलकूदको मिति घोषणा गछौँ ।”

Comments
Loading...