‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय भलिबल पोखरामा शुरु

हिमाली आवाज । कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा मंगलबारदेखी पोखरामा ‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

पोखरा रङ्गशाला स्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै उहाँले प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।प्रतियोगिताको पहिलो दिन आज भएका खेलमा महिलातर्फ म्याग्दी, पर्वत र लमजुङ बिजयी भएका छन् भने पुरुषतर्फ तनहुँ र स्याङ्जा विजयी बने ।

म्याग्दीले र नवलपुरलाई २५–५ र २५–१५ को सोझो सटेमा पराजित गरको हो भने पर्वतले स्याङ्जालाई २५–१६ र २५–२१ अङ्कले पराजित गर्न सफल भयो । महिलातर्फको तेस्रो खेलमा तनहुँले लमजुङलाई २५–१४ र २५–६ अङ्कले पराजित गर्न सफल भएको छ ।

पुरुषतर्फको प्रतिस्पर्धामा तनहुँले मुस्ताङलाई २५–१७ र २५–९ तथा स्याङ्जाले कास्कीलाई २५–१९ र २५–१८ अङ्कले पराजित गरी प्रतियोगितामा पहिलो जित दर्ता गराएका छन् । पुरुतर्फको म्याग्दी र बाग्लुङको खेल भने प्रतिकूल मौसमका कारण स्थगत गरिएको थियो ।
आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकीका १० जिल्लाबाट महिला तथा पुरुष दुबै टोलीले सहभागिता जनाएका छन् । मनाङबाट अत्यधिक हिउँ परेको र चिसोका कारणले खेलाडी उपलव्ध हुन नसकेका कारण टिम दर्ता नभएको बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकूदका लागि उत्कृष्ट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा कम्तिमा एक महिना राखी प्रदेशको उत्कृष्ट टोली तयार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घका अध्यक्ष भीम पराजुलीले बताउनुभयो ।‘लिग कम नकआउट’का आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेता महिला र पुरुष दुबै टोलीले समान रु दुई लाख सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी तृतीय टोलीले रु ५० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले नगद रु पाँच÷पाँच हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले जनही रु पाँच हजारका दरले पुरस्कार पाउने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो ।

Comments
Loading...