आँधीखोला गाउँपालिकाको बाङसिङमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन शिलान्यास

हिमाली आवाज । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ बाङसिङमा सुबिधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आज सो भवनको शिलान्यास गर्नुभएको हो । लामो समयको प्रतीक्षापछि वडामा स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भवन उद्घाटन गर्दै पौडेलले भन्नुभयो,“जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र गाउँपालिकाबाट कुनै कसर बाँकी राखिने छैन ।”

वडामा मेनपावर भएपनि भौतिक पूर्वाधार र उपकरण नुहुँदा यहाँका बासिन्दा अलि ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै पोखरा वा सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेर अब आफ्नै ठाउँमा सेवा लिन पाईने गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ ।

भवन निर्माणका लागि रु दुई करोड १० लाख लागत अनुमान गरिएकामा करिब २५ प्रतिशत ठेक्का घटेर रु एक करोड ५७ लाख मा सुन्दर निर्माण सेवा देउरालीसँग ठेक्का सम्झौता गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।  निर्माण कम्पनीसँग विसं २०७७ माघमा सम्झौता भएको  र यसै आर्थिक वर्षको अन्त्य सम्म पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।

आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी शंकर पौडेलले गर्नु भएको थियो ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, कार्यपालिका सदस्य जमुना पौडेल, लगायत टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, र समाज सेवीको उपस्थिति रहेको थियो ।

Comments
Loading...