गण्डकीका कृषकको कृषि ऋणमा ब्याज अनुदान : मन्त्री थापामगर

हिमाली आवाज । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने बताउनु भएको छ ।

बाघमारा बहुउद्देश्यीय (साकोस) सहकारी संस्थाको पोखरामहानगरपालिका वडा नं १७, विरौटामा सेवा कार्यालयको आज उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशका बैंक तथा वित्तिय संस्थाले कृषिमा ऋण लगानी गर्दा बढीमा ११ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्न आग्रह गर्दै कृषकले कृषि कार्य गर्न सो व्याजदरमा ऋण लिएको छ भने पाँच प्रतिशत व्याज गण्डकी प्रदेश सरकारले तिरिदिने उहाँले बताउनुभयो ।

देशको विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको भन्दै सहकारीको विकासमा वित्तिय सहकारी फस्टाउदै गएको र कृषि सहकारी कमजोर हुदै गएको उहाँले उल्लेख गर्नुभयो ।

उत्पादन सहकारीको विकासमा विशेष जोड दिनुपर्ने भन्दै वित्तिय सहकारीहरूले उत्पादन सहकारीको विकासमा सहयोग गर्न आवश्यक रहेको मन्त्री थापाले बताउनुभयो।

वित्तिय सहकारीले आफ्नो पुँजिको ३० प्रतिशत पुँजी कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति गण्डकी प्रदेश सरकारले वनाएकोले पालना गर्न आग्रह गर्नु भयो।
जिल्ला सहकारी संघ कास्की की अध्यक्ष सावित्रा कोईरालाले सहकारी संस्थाले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै यसको विकासमा तीनै तहको सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो।

गण्डकी प्रदेशसभाका सचिव हरेराम पोखरेलले सहकारी संस्था छरिएर रहेको ससाना पुँजिलाई एकीकृत गर्ने साधन भएकोले जम्मा भएको पुँजीलाई उत्पादनमूलक कार्यमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो।

बाघमारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डिल्लीराम बरालले आफ्नो पोखराको बाघमारा क्षेत्र कृषि क्षेत्र भएको र संस्थाले कृषि उत्पादनमा लगानी गर्दै आएको र कृषि उत्पादनमा जोड दिएको वताउनुभयो।

साथै सहकारीको प्रधान कार्यालय पोखरा महानगरपालिका वडा नं ३३, भरतपोखरीमा भएको र भरतपोखरी क्षेत्रका किसानहरूको बढी आवतजावत विरौटामा हुने भएकोले सेवा कार्यालय स्थापना गरेको जानकारी दिनुभयो।

Comments
Loading...