कास्कीमा कृषि ज्ञान केन्द्रको स्थापना, सेवाग्राही स्याङ्जा जानुपर्ने बाध्यता हट्यो

हिमाली आवाज ।  गण्डकी प्रदेश सरकारले कास्कीमै कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको छ ।प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि सम्बन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्दैै सो कार्यालय स्थापना गरेको हो ।

कृषि ज्ञान केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । ज्ञान केन्द्रको कार्यालय कास्कीमा नहुँदा यहाँका कृषक सेवा लिनका लागि स्याङ्जा जानुपर्ने बाध्यता थियो ।

कृषि मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरु सबै जिल्लामा नहुँदा सेवाग्राहीले सास्ती पाएको गुनासोपछि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने जनाएको थियो । कृषि मन्त्रालयका अनुसार हालसम्म प्रदेशका १० वटा जिल्लामा कार्यालय स्थापना तथा जनशक्ति व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले संघीयताको मर्म अनुसार आफ्नै ठाउँमा सेवाग्राहीले सेवा प्राप्त गर्ने व्यवस्थाका लागि प्रदेश सरकारका प्रतिवद्ध रहेको बताउनुभयो । कृषक र जनतासँग प्रत्यक्ष जोडिएको कार्यालय जिल्लामा स्थापना भएबाट संघीयता कार्यान्वयनका लागि सरकारले थालेको महत्वपूर्ण काम भएको उहाँको भनाई छ ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले मनाङ बाहेक कार्यालय नभएका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल कार्यालयको स्थापना गरिसकिएको जानकारी दिँदै कृषि उत्पादन वृद्धिमा मन्त्रालयले कार्यक्रम बनाएको बताउनुभयो ।
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले आयात प्रतिस्थापनका लागि कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभयो ।

मन्त्रालयका सचिव सवनम सिवकोटीले सीमित जनशक्तिबाट कार्यालय स्थापना गरी सेवा प्रवाह शुरु गरिएको बताउँदै कृषकका समस्या मन्त्रालयले कार्यक्रमका माध्यमबाट समाधान गर्दै अघि बढेको जानकारी दिनुभयो ।

Comments
Loading...