प्रतिनिधिसभा पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छ : प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागभण्डा र तमासाको राजनीति शुरु हुने बताउनुभएकोे छ ।

बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उहाँले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताउँदै मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको जिकिर गर्नुभयो ।

‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’, उहाँले भन्नुभयोे,‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।’ आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै ओलीलेन्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गर्नुभयो ।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने उहाँको भनाई छ । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उहाँले बताउनुभयो ।

ओलीले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताउँदै भन्नुभयो,‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।’ प्रधानमन्त्री ओलीले जनतालाई समस्या मुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।

Comments
Loading...