केपी ओलीको पक्षमा लागेका नेता–कार्यकर्तालाई मूल पार्टीमा फर्कन अध्यक्ष नेपालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई ऐतिहासिक फैसला भएको जिकिर गर्दै संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

सर्वोच्च अदालतको फैसलापछि खुसियाली मनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अदालतको फैसलासँगै अब ओली युगको अन्त्य भएको घोषणा समेत गर्नुभयो । ‘सत्यको जीत भयो, न्यायको जीत भयो । नेपाली जनताको जीत भएकोमा हामी खुसी छौँ,’ उहाँले भन्नुभयो।

‘कतै उज्यालो फैलिएको छ, कतै अन्धकार पनि होला । कतै साँझमा सूर्य उदाइ पनि रहेको छ, कतै अस्ताइ रहेको पनि होला । कतै खुसियाली छाएको छ, कतै मातम छाएको पनि होला,’ उहाँले भन्नुभयो ।नेपालले प्रधानमन्त्री केपी ओलीको पक्षमा भएका नेता–कार्यकर्ताहरुलाई आँखा खोलेर अब भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो ।

उनीहरुलाई आफ्नो पार्टीमा फर्कन आग्रह गर्दै नेता नेपालले भन्नुभयो, ‘ओली कम्युनिस्ट भन्न लायक थिएनन् अब लोकतन्त्रवादी लायक छैनन् । अब ओलीको पक्षमा भएका केही साथीहरुलाई मूल कम्युनिस्ट पार्टीमा फर्कन आग्रह गर्दछौँ । हामी स्वागत गर्नेछौँ । ढिला नगर्नुहोला ।’

संविधानको सर्वोच्चताको पक्षमा उभिने पूर्व प्रधानन्यायाधीश, निर्वाचन आयुक्तहरु, न्यायाधीश, नागरिक समाज, राजनीतिक दलका नेता–कार्यकर्ता तथा नेपाली जनतालाई धन्यवाद दिँदै उहाँले भोलिको जुलुस बिरोध जुलुस नभएर विजय जुलुस हुने घोषणा गर्नुभयो ।

Comments
Loading...