पोखरा रङ्गशालामा प्रधानमन्त्री ओलीको एक घण्टा…

–वासुदेव पौडेल÷कृष्ण दवाडी

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाका बीच समय व्यवस्थापन गरेर आज पोखरा रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।

पार्टीको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आउनुभएका उहाँ सभागृहमा पार्टीको भेला लगत्तै दिउसो ३ बजे रङ्गशाला पुग्नुभएकामा उहाँले एक घण्टा रङ्गशालामा व्यतित गर्नुभयो ।

देशको प्रमुख कार्यकारी प्रधानमन्त्री रङ्गशाला आउने खबर पाएपछि उत्साहित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षक उहाँको स्वागतमा प्रवेशद्धारबाटनै राष्ट्रिय झन्डा फहराउँदै उपस्थित थिए ।

प्रधानमन्त्री ओली रङ्गशालामा उपस्थित भएपछि आफ्नो खेल पोशाकमा उपस्थित खेलाडी तथा प्रशिक्षकले हातमा लिएको राष्ट्रिय झन्डा फहराए र प्रधानमन्त्रीको भव्य स्वागत गरे । उहाँको स्वागतमा रङ्गशालामा बाजागाजाको व्यवस्था मिलाइएको थियो भने साँस्कृतिक कार्यक्रमबाट समेत स्वागत गरिएको थियो ।

प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तराष्ट्रियस्तरको फुटबल रङ्गशालामा बसेर रङ्गशाला भित्र निर्माण सम्पन्न भएका खेल पूर्वाधार तथा निर्माणाधीन पूर्वाधारका बारेमा जानकारी लिनुभएको थियो ।

सुन्दर अन्नपूर्ण हिमश्रृङख्लाको पृष्ठभूमिमा बन्दै गरेको फुटबल रङ्गशालालाई एशियाली फुटबल महासङ्घ(एएफसी)ले एशियाको उत्कृष्ट रङ्गशाला भनेर आफ्नो वेवसाइटमा राखेको छ । प्रधानमन्त्रीलाई आयोजकले सोही रङ्गशालाको सुन्दर तस्वीर मायोको चिनो स्वरुप उपलव्ध गराउँदा प्रधानमन्त्री खुःशी हुुनुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रङ्गशालाको गुरुयोजना(मास्टर प्लान) तथा खेल पूर्वाधारका बारेमा जानकारी गराइरहँदा प्रधानमन्त्रीले त्यसलाई ध्यानपूर्वक हुर्नुभयो ।

रङ्गशालाभित्रका भलिबल कोर्ट, व्याडमिन्टन हल, बहुउद्धेश्शीय कभर्डहल, क्रिकेट मैदान, आर्चरी मैदान, टेनिस कोर्ट, ह्याडबल, स्क्वास लगायतका खेल पूर्वाधार तथा समस्याका बारेमा प्रधानमन्त्रीलाई सदस्य सचिव सिलवालले जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले रङ्गशालामा उपस्थित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षकलाई सम्बोधन गर्दै गत वर्ष १३ औँ दक्षिण एशियाली खेलकूद(साग)का केही खेल पोखरामा सफल सञ्चालनबाट ठूलो उपलब्धी हासिल भएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो,“अहिले खेलकूद आयोजना गर्न मिल्ने गरी रङ्गशाला निर्माण भएको १३ औँ सागको आयोजनाले पनि देखाएको छ, यसबाट नेपाल, गण्डकी प्रदेश र पोखराले ठूलो उपलव्धी हासिल गरेकोमा म गण्डकी  प्रदेश र पोखरालाई बधाई भन्न चाहन्छु ।”

प्रधानमन्त्रीले पोखरा रङ्गशालालाई अस्थायी रुपमा मात्र नभइ सम्पूर्ण हिसाबले तयारी अवस्थामा राख्नुपर्ने बताउँदै आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले पूर्वाधार निर्माणमा बजेट अभाव नहुने समेत प्रतिवद्धता जनाउनुभएको छ ।

“स्वीमिङ,आर्चरी(धनुवाण),पौडी पोखरी निर्माण गर्ने योजनामा केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने काम गरिनेछ ,सातै प्रदेशमा रङ्गशाला निर्माण गर्ने योजना सरकारको छ । कतिपय ठाउँमा बनिरहेको पनि छ ।” उहाँले भन्नुभयो,“पोखरा रङ्गशाला निर्माणलाई पूर्णता दिनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कुरा मलाई बताउनुभए हुन्छ, म प्रतिवद्ध छु । यसको अग्रसरता प्रदेश सरकार र खेलकूद परिषद्ले लियोस् ।”

पूर्वाधार, राम्रा प्रशिक्षक, आवश्यक खेल सामग्री, खेलाडीलाई प्रोत्साहन र सुविधका लागि सरकारले प्रारम्भ गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदका ५१ स्वर्ण विजेता खेलाडीहरुलाई सहित २०७ पदक विजेता खेलाडीलाई सम्मान गरेको बताउनुभयो ।

खेलाडीले इमान्दारिताका साथ खेल खेल्दा र सिक्दा कसैलेपनि उचिन्न नसक्ने बताउँदै खेलाडीलार्ई अनुशासनमा रहेर मिहिनेत गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“इमान्दारिताका साथ खेल्नुहोस्, सिक्नुहोस् । सही, उचित र ठीक ढङ्गबाट प्रयास गरिराखेमात्र सफलता प्राप्त हुन्छ ।”

सदस्य सचिव सिलवालले अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला, स्वीमिङ पुल, सुटिङ रेन्च तथा क्रिकेट मैदानमा प्यारापिट लगाएतका खेल पूर्वाधार बजेट अभावमा अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

रङ्गशालामा हालसम्म भएका भौतिक प्रगतिका बारेमा जानकारी गराउनका लागि प्रधानमन्त्रीको रङ्गशाला अवलोकन कार्यक्रम तय गरिएको सदस्य सचिव सिलवालले बताउनुभयो ।

आगामी नवौँ राष्ट्रिय खेलकूद विसं २०७८ भित्रमा गण्डकी प्रदेशमा हुने भएकाले कतिपय खेल पूर्वाधार बजेट अभावमा रोकिएकाले प्रधानमन्त्रीबाट निकासा भएको खण्डमा तिनले पूर्णता पाउने सिलवालले बताउनुभयो । राष्ट्रिय खेलकूद अन्तर्गत गण्डकीका सबै जिल्लामा कम्तिमा एउटा खेल खेलाउने योजना रहेकाले बाँकी पूर्वाधार छिटो निर्माण गर्नुपर्ने अवस्था रहेको राखेप सदस्य राजेश गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रङ्गशाला निरीक्षणबाट पूर्वाधार विकास र खेल पर्र्यटन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुुगेको छ ।

Comments
Loading...