नेकपालाई फेरी एकतावद्ध बनाउने अभियानमा छौँ : मुख्यमन्त्री गुरुङ

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भावनात्मक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकतालाई जोगाउन सकिन्छ कि ? भनेर आफूहरु लागि परेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण गर्र्न लागिएको कोरोना विरुद्ध खोप भण्डार गृहको आज शिलान्यास गर्दै उहाँले पार्टीलाई एकतावद्ध बनाएर नेकपाकै नेतृत्वमा सरकार बनाउन सकिन्छ कि भनेर अभियानमा रहेको बताउनुभयो ।

मुलुकको अस्थिरता अन्त्यका लागि ६४ प्रतिशत बहुमत प्राप्त नेकपाको सरकारलाई एकतावद्ध बनाएर मुलुकको समृद्धि र स्थिरता प्रत्याभूति सहित र राष्ट्रिय स्वाभिमानका लागि सञ्चारकर्मी लगायत सबैले आवाज उठाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो,“नेताहरुको रिभेन्जको पोलिटिक्स(बदलाको राजनीतिले)नेकपा भावनात्मक रुपमा विभाजित भएको छ। भावनात्मक रुपमा फुटेको पार्टीलाई जुटाउन सकिन्छ की भनेर विकल्पहरु खोजी गर्दै लागि परेका छौँ ।”

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले खोप भण्डार गृहसँगै प्रदेश प्रयोगशाला, औषधी भण्डारण गृह लगायतका संरचना निर्माणका लागि बजेट सुनिश्चित गरिएकाले डिजाइन तयार भइरहेको जानकारी दिनुभयो ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीको रु ७५ लाख तीन हजार ५७३(भ्याट बाहेक) लागतमा सो खोप भण्डार गृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयो । खोप भण्डार गृह बनेपछि ४० लाख जनसंख्यालाई पुग्ने खोप भण्डार गर्न सकिने जनाइएको छ ।

Comments
Loading...