बिटी कप अन्तर क्लब फुटबलको उपाधि एम टुबेललाई

हिमाली आवाज । पोखरामा सञ्चालन भएको ‘चौथोे विरेन स्मृति एवं १४ औं बि.टी. कप सेभेन ए साईड नकआउट अन्तर क्लबस्तरीय फुटबल’ प्रतियोगिताको उपाधि एम टुबेलले जितेको छ ।

बुद्धटोल युवा क्लब पोखराद्वारा गत फागुन १६ गतेदेखी पोखरा महानगरपालिका–१ टुँडिखेलस्थित खेल मैदानमा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा कमलपोखरी क्लबलाई ४–० को गोल अन्तरले पराजित गर्दै एम टुबेलले उपाधि सहित नगद रु एक लाख ३२ हजार २२२, शिल्ड तथा मेडल पुरस्कार प्राप्त गर्न सफल भयो ।उपविजेता बनेको कमलपोखरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८२ हजार २२२ मा चित्त बुझाउन बाध्य बन्यो ।

एम टुबेलको जीतमा ‘म्यान अफ द म्याच’ मनिस क्षेत्री सहित अविनाश तामाङ, सरोज तामाङ र मनोज गुरुङले एक÷एक गोल गर्नुभएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपाधि विजेता टोलीका मनिस क्षेत्री घोषित हुदै ट्रफी सहित नगद रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको प्रचार प्रसार संयोजक अमृत गुरुङ लामाले जानकारी दिनुभयो ।

यसैगरी उत्कृष्ट गोलकिपर एम टुबेलका रोमन थापा, उत्कृष्ट मिडफिल्डर मनोज गुरुङ, उत्कृष्ट डिफेण्डर सरोज तामाङ र आयोजक सेतोका सुनिल बिकले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गर्दै जनही नगद रु तीन हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट मालेपाटन एफसी अनुशासित टिम रुपमा घोषित हुदै नगद रु सात हजारबाट पुरस्कृत भएको थियो ।

विजेता,उपविजेता टोली तथा सर्वोत्कृष्ट हुन सफल खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य रामहरि खतिवडा, क्लबका अध्यक्ष विजया गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...