नेपालको डेरी क्षेत्रमा निजी क्षेत्रको ३० अर्व लगानी

हिमाली आवाज । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसकेपनि सोको नजिक रहेको पाइएको छ ।देश भरी रहेका दुग्ध प्रशोधन उद्योगहरुको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार साँझ पोखरामा भएको १० औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रति व्यक्ति ७८ लिटर प्रति वर्ष रहेको जानकारी दिइयो ।

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिस अनुसार दैनिक २५२ मिलि प्रति व्यक्ति वा वार्षिक ९१ लिटर प्रति व्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सो अनुसार उपलव्ध नभएको र वार्षिक अझै प्रति व्यक्ति प्रति वर्ष १३ लिटर दूध अपुग रहेको सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । उहाँका अनुसार दूग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर पनि हो ।

नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ । कूल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिव चार प्रतिशत रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
सङ्घका अनुसार नेपालको नीजि क्षेत्रको डेरी उद्योगमा रु ३० अर्वको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ । देशभर दूग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आवद्ध रहेका छन् ।

दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक रु पाँच करोड तथा वार्षिक रु १२ अर्व शहरबाट गाउँ तर्फ नगद प्रवाह भइरहेका कारण दूग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको बताइन्छ । नेपालमा भारत तथा तेश्रो मुलुकबाट करिव रु दुई अर्ब भन्दा वढीको आयात भई रहेको छ ।

नेपालमा ठूला दूग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५०० भन्दा बढि दूध उत्पादन गर्ने क्षमताका डेरीहरु रहेको सङ्घका निर्वतमान अध्यक्ष इन्जिीनिय अरनिको राजभण्डारीले जानकारी दिनुभयो ।

सङ्घले स–साना डेरी उद्योगहरुले खाद्यको अनुज्ञापत्र र लेवल विना सञ्चालन भएका कारण उपभोक्ताले पूर्ण रुपमा गुणस्तरको प्रत्याभूति गर्न नसकेको तथा अस्वस्थ प्रतिस्पर्धा हुन गएकाले नियमनकारी निकायको ध्यान जानुपर्नेमा जोड दिएको छ ।

त्यस्ता उद्योगहरुमा अनुगमन गरी खाद्य अनुज्ञापत्र, लेवुल, भ्याट र प्यानको दायरा भित्र ल्याई हालै जारी भएको दूध सम्बन्धी खाद्य स्वच्छता निर्देशिका २०७५ को मूल भाव अनुसार दुग्ध क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न माग गरिएको छ ।

मौषम अनुसारको दूध उत्पादनको कारण जाडो महिनामा (असोज देखि फाल्गुण सम्म) उत्पादन बढि भई किसानको दूधले बजार नपाउने अवस्था र गर्मी महिना (चैत देखि भाद्र) सम्म दूधको अभाव भई निर्यातित दुग्धजन्य पदार्थमा निर्भर हुनु परेको बताइन्छ ।

उत्पादन बढी हुने मौसममा दूधलाई व्यवस्थापन गर्न सङ्घले ‘मिल्क होलिडे’ समस्या न्युनिकरण गर्न चितवन मिल्क लिमिटेड र पोखरा स्थित सुजल डेरीमा लगि सम्पूर्ण नीजि डेरी उद्योगहरुमा बढि दूधलाई धुलो दूधमा रुपान्तरण भई रहेको अध्यक्ष दाहालले बताउनुभयो ।चालू आर्थिक वर्षमा ०७७÷७८ दुबै उद्योगमा गरी ९० लाख लिटर दूध धुलो दूधमा परिणत गरिसकिएको बताइन्छ ।

भारतको बहुराष्ट्रिय कम्पनी अमूलले नेपालको पूर्वी क्षेत्रबाट दूध किनेर सीमाभन्दा सात किमी टाढा सिक्कीममा रहेको आफ्नो प्रशोधनशालामा लाने योजना सार्वजनिक गरेको भन्दै सङ्घले नेपाली अर्थतन्त्रको लागि चिन्ताजनक रहेको जनाएको छ ।

यसबाट कच्चा दूध निर्यात गरी प्रशोधित दूग्ध पदार्थ आयात गर्नुपर्ने अवस्था आउने र नेपाली डेरी उद्योगहरु आफ्नो क्षमताभन्दा कममा सञ्चालन हुने बताइन्छ ।

साधारणसभाका गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सामूहिक प्रयासबाट दूग्ध उत्पादन र प्रशोधनलाई व्यवस्थित गर्नुपर्ने बतानुभयो ।

कृषक र उद्योगीहरुलाई सहुलियत ऋण सुविधा उपलव्ध गराएर प्रोत्साहित गर्नका लागि प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदानको कार्यक्रम शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...