आहा रारा गोल्डकप फुटबलमा एक विदेशी सहित आठ टोलीले प्रतिस्पर्धा गर्ने

हिमाली आवाज । मोफसलको बहुप्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’मा आठ टोलीले सहभागिता जनाउने भएका छन् ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौैँ’ भन्ने उद्धेश्य सहित सहारा क्लब पोखराको आयोजनामा आगामी चैत २१ देखी २८ गतेसम्म सञ्चालन हुने १९ औं संस्करणको प्रतियोगितामा विदेशी एक सहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबहरु नेपाल आयल निगम मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार, नेपाल एपिएफ क्लब, सङ्कटा क्लब, मछिन्द्र क्लब र आयोजक सहारा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यस वर्ष ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट एकजना राष्ट्रिय टोलीका खेलाडीलाई नगद रु ३५ हजार, प्रमाण–पत्र र दोसल्ला बाट सम्मान गरिने आयोजकले जनाएको छ ।

यस वर्षदेखी राजनीतिज्ञ एवं उद्योगि स्व.सूर्यबहादुर केसीको स्मृतिमा उत्कुष्ट पाँच विधाको पुरस्कार अर्पण गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगाएत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा यूकेले उपलब्ध गराएको छ ।

पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब सिटी’को रुपमा परिचित गराउँदै, नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्ने लक्ष्य सहित प्रतियोगितालाई निरन्तरता दिइएको बताइन्छ ।

प्रतियोगितामा अनुमानित रु एक करोड २९ लाख एक हजार आम्दानी भई प्रतियोगिता सञ्चालनमा रु एक करोड एक लाख ८१ हजार खर्च हुने क्लबले जनाएको छ । प्रतियोगितालाई पहिलो संस्करण देखीनै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।

सहाराले क्याराभान गोल्ड कप सहित २० वर्ष देखी निरन्तर सञ्चालन गर्दै आएको प्रतियोगिताबाट वचत हुन आएको रकम क्लबबाट पोखरा–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ ।

हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विसं २०७० देखि उनीहरुले आवासीय रुपमा स्वास्थ्य, शिक्षा, दिक्षा लगायत फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

Comments
Loading...