जित प्रसाद द्वा पत्रकारिता पुरस्कारबाट पत्रकार सिग्देल पुरस्कृत

हिमाली आवाज ।जित प्रसाद द्वा पत्र कारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा आज सिग्देललाई पुरस्कार अर्पण गरिएको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद रु २५ हजार सहित उहाँलाई पुरस्कृत गर्नुभयो । लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै सिग्देललाई संघले सम्मान गरेको हो ।
पत्रकार सिग्देल हाल फेवा पोस्ट साप्ताहिकको सह—सम्पादक हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पुरस्कार छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले पुरस्कृत व्यक्ति सिग्देलको परिचय प्रस्तुत गर्दै पोखराको पर्यटन क्षेत्रमा चलचित्रका माध्यम ठूलो फड्को मार्न सक्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुरस्कारदाता जित प्रसाद द्वा र कलाकार प्रकाश घिमिरेलाई संघले सम्मान गरेको थियो । संघको पहलमा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार स्थापनामा गरेका जित प्रसाद द्वालाई दोसल्ला, ताम्रपत्र, माला र अबिर सहित सम्मान गरिएको थियो । जसलाई मिडटाउन सिनेमाजका प्रतिनिधिले ग्रहण गरेका थिए ।

यस्तै, लामो समय देखि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्रमा कलाकारिताका माध्यम पुर्याएको अतुलनिय योगदानको कदर गर्दै कलाकार घिमिरेलाई संघले सम्मान गरेको थियो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली,नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूहबाट बिमला भण्डारी, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङ लगायतले भनाई राख्नुभएको थियो । संघको चौंथो साधारण सभामा २०७६ माघ २८ गतेदेखि २०७७ फागुन २९ गतेसम्मको एक वर्षको वार्षिक कार्यक्रमको प्रतिवेदनलाई अध्यक्ष अरुण गिरीले प्रस्तुत गर्नुभयो ।

यस्तै सभाको बन्द सत्रमा आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष अर्पण तिवारीले पेश गर्नुभयो । औपचारिक कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गर्नुभएको थियो ।

Comments
Loading...