श्रीवृद्धि सहकारीको अनुकरणीय काम :शेयर सदस्यलाई खुर्सानीकोे बेर्ना र प्राङ्गारिक मल

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १० हस्पिटलचोकमा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई खुर्सानीको बेर्ना र प्राङ्गारिक मल वितरण गरेको छ ।सो सहकारीले आज एक कार्यक्रम आयोजना गरी बेर्ना वितरण गर्न शुरु गरेको हो ।

स्वावलम्बी बनौँ, उत्पादनमा जोड दिऔँ नारा सहित अघि बढेको सहकारीले प्रत्येक सदस्यको घर घरमा उत्पादनमा जोड दिने उद्धेश्यले खुर्सानीको बेर्ना वितरण गर्ने कार्यक्रम ल्याएको हो ।

दैनिक भान्सामा अत्यावश्यक खुर्सानी घरको छतमा थोरै मिहिनेतमा पनि उत्पादन गर्न सकिने अवस्था रहेपनि अहिले परनिर्भर बन्दै बजारमा किन्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि सदस्यहरुलाई स–साना उत्पादनका लगाउने योजना अनुसार बेर्ना वितरण गरिएको सहकारीका अध्यक्ष मीन गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“संस्थाका सबै सदस्यहरुलाई उत्पादनमा उत्प्रेरित गर्नका लागि बेर्ना वितरण कार्यक्रम ल्याएका हौँ । दैनिक भान्छामा प्रयोग हुने सामग्रीलाई घरमै उत्पादन गर्न सके पूँजी बाहिर जान पाउँदैन, हामीलाई स्वावलम्वी बन्न सहयोग पुग्दछ ।”

अध्यक्ष गुरुङले सहकारीले नासोको रुपमा वितरण गरेको बेर्नाको राम्रो उत्पादन गर्ने सदस्यको अनुगमन गरी पुरस्कृत गरिने योजना रहेको समेत सुनाउनुभयो ।

सहकारीले संस्थामा आवद्ध ५९० शेयर सदस्यहरुलाईनै बीउ र मल वितरण गरिने जनाएको छ । हेर्दा सानो भएपनि महत्पूर्ण सन्देश बोकेको उत्पादन केन्द्रीत कार्यक्रम सहकारीले गरेको भन्दै शेयर सदस्यहरु पनि खुःशी भएका थिए ।

कार्यक्रममा ढिकालेथर महिला बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष सिर्जना आचार्य,रामघाट महिला सहकारीका अध्यक्ष एशोदा गुरुङ, सुनौलो बचत तथा ऋण सकारीका अध्यक्ष कलावती तिमिल्सिना लगायतले श्रीवृद्धिले शुरु गरेको अनुकरणीय कार्यको प्रशंसा गर्नुभएको थियो ।

Comments
Loading...