मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामाग्रीको प्रयोग एवम् चिनारी यात्रा

हिमाली आवाज । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन(टेसा) पोखराको आयोजनामा मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्रा आजदेखि सुरु भएको छ ।

पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मी सहित ३० सदस्यीय टोलीले आगामी चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो ।

पोखराको डिहिको पाटनमा पदयात्रा शुभारम्भ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, आन्तरिक पर्यटन पुनरोत्थान समिति पोखराका संयोजक अग्नी कंडेल, टेसा पोखराका अध्यक्ष नारायण सापकोटा, नेपाल पर्यटन बोर्ड पोखराका अधिकृत जयशक्ति सराफ, टेसा पोखराका सचिव टीका बहादुर लम्साल लगायतले कार्यक्रमले पदयात्रा पर्यटनको प्रवद्र्धनका साथै पदयात्रा समग्रीको चिनारी सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राख्नुभयो ।

कोरोनाका कारण लामो समयदेखि तहसनहस पदयात्रा पर्यटनलाई पुरानै लयमा फर्काउनाका साथै पदयात्रामा प्रयोग गरिने सामग्रीको प्रयोगात्मक जानकारीसमेत गराउने लक्ष्यका साथ अवलोकन भ्रमण गराउन लागिएको कार्यक्रम संयोजक एवं टेसा पोखराका निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार दिने पदयात्राका क्रममा सहभागीले कास्कीको काँडेदेखि अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यु प्वाइन्टसम्म पदयात्रा गर्दै फर्कने छन् । हिउँले ढाकिएका हिमाल, वरपरदेखिने हरिया वनजङ्गल, डाँडाकाँडा र बस्तीको एकसाथ दृश्यावलोकन मर्दी ट्रेकको विशिष्टता भएको उहाँले बताउनुभयो ।

पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागत रुपमा नै ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन(टेसा) क्रियाशील छ । पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आवद्ध छन् ।

Comments
Loading...