पर्यटकको बाटो हेर्दे मर्दी पदयात्रा मार्गका पर्यटन व्यवसायी

वासुदेव पौडेल
हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं २४ मैदान स्थायी बसोवास भई पोखरास्थित बाराही माध्यमिक विद्यालयमा अध्यापनरत टंकप्रसाद सुवेदी पहिलोपटक मर्दी हिमालको पदयात्रा गर्दा निकै खुसी देखिनुहुन्थ्यो ।

कोरोनाले थलिएको पर्यटन विस्तारै पुरानै लयमा फर्कने आशा पलाइरहेका अवस्थामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन(टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्रामा सहभागी उहाँलाई हिँड्दाको दुःख भन्दा पनि पदयात्रा मार्गमा देखिएको प्राकृतिक सुन्दरता आदिले थकाइ मेटाइरहेको थियो ।
जंगलैजंगलको बीचबाट गरिने मर्दी हिमालको पदयात्रा प्राकृतिक दृश्यावलोकनका दृष्टिले निकै आकर्षक गन्तव्यका रुपमा आँफूले पाएको उहाँले बताउनुभयो । “ढकमक्क ढाकिएका जंगलको बीचबीचबाट चराचुरुङ्गीको चिरविराहट सुन्दै, दृश्यहरू नियाल्दै हिड्न पाउनु यहाँको विशिष्टता रहेछ”, पर्यटन व्यवसायी समेत रहेका उहाँले भन्नुभयो, “कोरोनाले थलिएको पदयात्रा पर्यटन आगामी दिनमा पुनः पूर्ववत् अवस्थामा फर्कने विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको पायौं ।”

सुवेदी जस्तै यतिखेर मर्दी हिमालको पदयात्रामा आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । पर्यटकका लागि यस पदयात्रा मार्गका ठाउँ ठाउँमा सुविधासम्पन्न होटेलहरू रहेको पदयात्रा मार्गको हाइक्याम्पस्थित ट्रेकेस प्याराडाइजका सञ्चालक सुदिप गौतमले बताउनुभयो ।गौतमका अनुसार पदयात्रा मार्गका अष्ट्रेलियन क्याम्प, पोथना, लब्ली हिल, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प लगायतका स्थानमा ५० भन्दा बढीको संख्यामा सुविधासम्पन्न होटेल सहित व्यवसायी पर्यटकको पर्खाइमा छन् ।

नेपालमा पदयात्रा एवम् पर्वतीय पर्यटनको धेरै सम्भावना रहेको बताउँदै नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिव समेत रहेका उहाँले भन्नुभयो, “कोरोना प्रभावित पर्यटनलाई पुनरोत्थान गर्न आन्तरिक पर्यटनमा विशेष जोड दिनुपर्ने देखिएको छ ।” केही वर्ष यता मर्दी हिमाल पदयात्रामा पर्यटकहरूको आकर्षण बढीरहेको बताउँदै उहाँले नेपाल पर्यटन बोर्ड सहित पर्यटनसम्बद्ध संघ संस्थाले प्रवद्र्धनका गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
पदयात्रामार्गका साथै उक्त क्रममा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको व्यवसायीको साझा संस्था ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएन(टेसा) पोखराले यस क्षेत्रमा आउने जो कोही पर्यटकका लागि गुणस्तरीय सामाग्रीहरू उपलब्ध गराउँदै आएको टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो ।

“हामी व्यवसाय मात्र नभै पदयात्रा गर्ने पर्यटकका लागि अपरिहार्य सामाग्री पनि गुणस्तरीय होस् भन्ने पक्षमा निरन्तर कृयाशिल छौं”, उहाँले भन्नुभयो, “नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा टेसा पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्रामार्फत पनि हामीले यो सन्देश पर्यटन क्षेत्रमा प्रवाह गर्न खोजेका छौं ।”

कोरोना सङ्क्रमणले पारेको प्रभावका बाबजुद पनि आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने सोचका साथ आँफूहरू व्यवसायलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । मर्दी पदयात्राका क्रममा पदयात्रा मार्गमा पनि व्यवसायीहरू उच्च मनोबलका साथ आगामी दिनमा पर्यटक आउने आशामा बसिरहेको पाइएको होटेल ग्रिन भ्युकाका सञ्चालक धनु गुरुङले जानकारी दिनुभयो । कोरोनाको समयमा पनि आन्तरिक पर्यटककको आगमन फाट्टफुट्ट भएको उहाँले बताउनुभयो । आगामी दिनमा पर्यटकको आगमन बढ्ने आशाका साथ आँफूहरू कृयाशिल बनेको उहाँको भनाइ छ ।

पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागत रुपमा नै ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन(टेसा) क्रियाशील छ । पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आवद्ध रहेको निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिनुभयो ।

छोटो समयमा हिमालको काखमा पुग्न सकिने भएकोले मर्दी हिमालको पदयात्रा नेपालीले निकै रुचाएको टेसा पोखराका कार्यसमिति सदस्य एवम् ट्रेकिङ गाइड रमेशराज अधिकारीले जानकारी दिनुभयो । “छोटो समयमा दुई दिनमा नै हिमालको फेदीमा पुग्न सकिने मर्दी पदमार्ग हो”, उहाँले भन्नुभयो, “हिमाली दृश्यका साथै पदमार्गमा देखिने ठूला ठूला लालिगुराँस लगायतका प्रजातिका बोट सहितको दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ ।”

समुद्री सतहबाट पाँच हजार ५८७ मिटर उचाइको मर्दी हिमाललाई सर्वप्रथम सन् १९५६ एक स्वीस नागरिकले चर्चामा ल्याउनुभएको हो । सन् १९९० पछि यस क्षेत्रमा पर्यटनका क्षेत्रमा कृयाशिल संस्था हिमालयन इन्काउन्टरले क्याम्पिङ सुरु गरेको गौतमले जानकारी दिनुभयो । १९९० देखि २००७ सम्म क्याम्पिङका साथै भैसी पालन गर्दै आएका स्थानीयले डोकोमा समान ल्याएर पर्यटकलाई सेवा प्रवाह गरेकोमा त्यस यता भने सुविधासम्पन्न होटेल मार्फत सेवा प्रवाह भैरहेको यहाँका पर्यटन व्यवसायी बनाउँछन् ।

पछिल्ला समयमा मर्दी ट्रेकमा दिनप्रतिदिन पर्यटकहरू बढ्न थालेसँगै आँफूहरूमा उत्साह थपेका र आशा जगाएको बादलडाँडास्थित होटेल ३६० का सञ्चालक खुसीमान आलेले बताउनुभयो

Comments
Loading...