गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्य सचिवमा तेज गुरुङ नियुक्त

हिमाली आवाज । गण्डकी प्रदेश खेलकूद परिषद्को सदस्यसचिवमा तेजबहादुर गुरुङ नियुक्त हुनुभएको छ ।

पोखरा महानगरपालिका–१६ अर्मला स्थायी घर हुनुभएका गुरुङलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवमा नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

सदस्यसचिवको कार्यकाल चार वर्षको हुनेछ । सरकारले सदस्यसचिव छनोटका लागि खुला दरखास्त आह्वान गरेको थियो ।सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा गठन गरिएको तीन सदस्सीय सिफारिस समितिले सदस्यसचिव नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रश्ताव पेश गरेकामा सो प्रश्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको मन्त्री बस्नेतले बताउनुभयो ।

सिफारिस समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुँबर र खेल विज्ञ दिल बहादुर गुरुङ सदस्य हुनुहुन्थ्यो । गुरुङ सहित नवराज अधिकारीले सदस्यसचिवका लागि आवेदन दर्ता गराउनुभएको थियो ।

सदस्य सचिवका लागि स्नातक उत्तीर्ण तथा ३० वर्ष उमेर पूरा भएको भई ६० वर्ष नकटेको खेलकूद ऐनमा व्यवस्था गरिएको छ ।
सदस्य सचिवमा नियक्त गुरुङ नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष, नेपाल ह्याण्डबल सङ्घ र भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष रहनुभएको छ ।

शुरुआतमा बास्केटबलबाट खेल जीवन शुरु गर्नुभएका गुरुङले विसं २०३९ बाट ह्याण्डबल खेललाई मुख्य खेलको रुपमा लिँदै अघि बढ्नु भएको थियो । उहाँले सन् १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी गर्नुभएको थियो ।

प्रदेश सरकारले प्रदेशमा खेलकूूदको विकास तथा नियमनका लागि असोज दोस्रो साता प्रदेश खेलकूद विधेयक प्रदेशसभाबाट पारित गरेको थियो ।

Comments
Loading...