पोखरामा साइन रेसुङ्गा बैँकको ७७ औँ शाखा

हिमाली आवाज । लुम्बिनी प्रदेशको बुटवलमा प्रधान कार्यालय रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गण्डकी प्रदेशको राजधानी शहर पोखरामा आफ्नो शाखा विस्तार गरेको छ ।पोखरा महानगरपालिका–८ न्यूरोडमा बैँकले आजदेखी आफ्नो ७७ औँ शाखा सञ्चालनमा ल्याएको हो ।

सो शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैँक पोखराका निर्देशक इश्वरीप्रसाद भट्टराईले कृषि, पर्यटन, उद्योग लगायतका प्राथमिकता प्राप्त उत्पादनशील क्षेत्रमा बैँक तथा वित्तिय संस्थाले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्युतिय बैँकिङ मार्फत छिटो छरितो सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।गण्डकीमा यसअघि बाग्लुङ बुर्तिबाङमा पहिलो शाखा सञ्चालनमा ल्याइएकामा न्यूरोडमा दोस्रो शाखा विस्तार गरिएको बैँकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।पर्यटकीय राजधानी शहर पोेखरामा उत्कृष्ट बैँकिङ सेवा आमसर्वसाधारणलाई उपलव्ध गराउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

विसं २०६५ फागुन ११ गते स्थापना भएको बैंकको कूल चुक्ता पूँँजी रु चार अर्व रहेको छ । हालसम्म रु ३३ अर्व ५० करोड बचत सङ्कलन र रु ३० अर्व ५० करोड ऋण लगानी गरिएको बैँकका डेपुटी प्रमुुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बैँकमा हाल चार लाख ५० हजार ग्राहक तथा ७५० कर्मचारी कार्यरत छन् ।

पोखराका अन्य तीन स्थानमा निकट भविष्यमा शाखा विस्तारको योजना अनुसार स्वीकृतिका लागि राष्ट्र बैँक समक्ष पेश गरिएको बताइन्छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लामा गरी बैँकका ६७ शाखा सञ्चालनमा रहेको जनाइएको छ । यसैगरी काठमाडौँमा तीन तथा महेन्द्रनगर, धनगढी लगायतका जिल्लामा पनि शाखा विस्तार गरिएको बैँकले जनाएको छ ।

Comments
Loading...