कोरोना खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि

काठमाडौँ। पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गते सम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गते सम्म दोस्रो मात्रा दिने भएको हो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथमिकता क्रममा परेका व्यक्तिलाई वैशाखमा खोप दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आईसीएसको बैठकले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो पटकको खोप दिने निर्णय भएको जानकारी दिनुभयो ।

Comments
Loading...