पोखरा चेम्बर अफ कमर्सको साधारण सभा, व्यवसायका लागि भयमुक्त वातावरण भएन

हिमाली आवाज । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले भयमुक्त भएर व्यवसाय गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले सरकारले व्यवसायीको मनोवल बढाउने काम गर्नु पर्ने धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले सयुक्त राष्ट्र संघले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गरेको जानकारी दिँदै नेपालका उद्योगी व्यवसायीहरु अब गरिब देशको नभएको चर्चा गर्नुभयो । उहाँले विदेशबाट आयातित तथा अरुका सामान बेच्न भन्दा आफै उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारी, कास्कीका अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता गौतम तिवारी, महासचिव उमराज बास्तोला, अर्जुन परियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महासचिव उमराज बास्तोलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले पेश गरेको आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन र बस्तुगत तर्फ यमनाथ पौडेलले प्रस्तुत गरेकोविधान संशोधन प्रस्ताव सभाले सुधार सहित पारित गरेको छ । सभामा विभिन्न विधाका अवार्ड वितरण गर्नुका साथै आजीवन तथा संस्थापक सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार तेजबहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा नियुक्त हुनुभएकोमा दोशल्ला ओढाएर सम्मान गरिएको छ । संस्थाका सचिवालय सदस्य रवीबहादुर विकलाई प्रेसिडेन्टल अवार्ड, उत्तरी क्षेत्र चेम्बरलाई उत्कृष्ट इकाई सम्मान प्रदान गरियो । वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेललाई उत्कृष्ट कार्य समिति सदस्य सम्मान, महिला चेम्बर अफ कमर्स कास्कीलाई उत्कृष्ट विभाग समिति सम्मान प्रदान गरिएको छ । संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने सचिव प्रेमप्रसाद सुवेदी र राजश्व परामर्श समितिका सदस्य इन्द्रप्रसाद भुवाई (राजु)लाई समेत सम्मान गरिएको छ ।

लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालसंगको सहकार्यमा संस्थागत लेखाजोखा कार्याशाला गोष्ठीको आयोजना गरिएको छ

 

Comments
Loading...