लोक गायक प्रविण गुरुङलाई गाउँले सम्झियो,चैत १७ देखी लुम्लेमा विविध कार्यक्रम हुने

हिमाली आवाज । राष्ट्रिय चर्चित लोक गायक प्रविण गुरुङको स्मृतिमा उहाँको जन्म गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेमा स्रस्टा सम्मान लगायतका विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।

लुम्ले गाउँमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अमिट छाप छोड्न सफल गुरुङको स्मृतिमा रिनी म्यु तमु ट्हो धिँ समाजको आयोजनामा यही चैत १७ देखी २१ गतेसम्म सम्मान, खुला दोहोरी गीत प्रतियोगिता र गण्डकी प्रदेशका गाउँहरुकाबीच भलिबल प्रतियोगिता आयोजना गरिने आज लुम्लेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्र्यक्रमका अवसरमा चैत २१ गते लुम्लेमा निर्माण गरिएको स्व. गुुरुङको शालिक अनावरणको कार्यक्रम रहेको समाजका सचिव राजु गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्रस्टा सम्मान अन्तर्गत यस वर्ष प्रविण गुरुङ स्मति कलाकारिता पुरस्कारबाट पप सङ्गीतका अग्रज गायक नविन गुरुङ र स्व.धनबहादुर गायकलाई मरणोउपरान्त प्रदान गरिने छ । पुरस्कार राशी जनही रु ११ हजार १११ रहेको छ ।

खुला दोहोरीतर्फ प्रथम हुने समूहले रु २० हजार, द्वितीयले रु १५ हजार, तृतीयले रु १० हजार तथा सान्त्वनालाई रु छ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।यसैगरी भलिबलमा प्रथम रु.५० हजार ५५५, द्वितीय रु ३० हजार ५५५, तृतीय रु १५ हजार ५५५ र सान्त्वना रु पाँच हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर,सटर र सर्भिसरलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइन्छ ।

सोही वडाका वडाध्यक्ष चित्रबहादुर गुरुङले गला र कलाका माध्यमबाट गाउँलाई स्वदेश तथा विदेशमा चिनाउन सफल प्रतिभाको योगदानको कदर गर्र्दै गाउँपालिकाले विसं २०७५ देखी विभिन्न कार्यक्रम शुरु गरेको जानकारी दिनुभयो ।

यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथिबाट को आयो सालको पात बजाउँदै,बेली र चमेली, घर हाम्रो शिखापुर लगायतका चर्चित गीतका गायक गुरुङको गीत सङ्गितका क्षेत्रमा लाग्दालाग्दै विसं २०५१ जेठ १९ गते सडक दुर्घटनामा परी काठमाडौँमा निधन भएको थियो । उहाँको मृत्यु अस्वाभाविक भएको भन्दै त्यस बेला देशभर विरोध प्रदर्शन गरिएको थियो ।

तत्कालिन गण्डकी अञ्चल स्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पाण्डव सुनारसँग सम्पर्क पश्चात राष्ट्रिय नाचघर काठमाडौँमा पनि काम गर्नुभएको बताइन्छ ।

सो अवसरमा समाजका वरिष्ठ सल्लाहकार आइबहादुर गुरुङ, समाजका अध्यक्ष टेकबहादुर गुरुङ, मूल समितिका सदस्यहरु नविन गुरुङ र जीवन दाहाल, खेल संयोजक रोहित गुरुङ लगायतले कार्यक्रमको औचित्य माथि भनाई राख्नुभएको थियो ।

Comments
Loading...