पोखरामा भएको फुटसल प्रतियोगिताको उपाधि डुङ्गालाई

हिमाली आवाज । पोखरामा आयोजना गरिएको वार्जन प्रिजेन्टस् ‘प्रथम खुल्ला फुटसल प्रतियोगिताको उपाधि घरेलु टोली ‘टीम डुङ्गा’ले जितेको छ ।

चैत १० गतेदेखी पोखरा महानगरपालिका–४ गणेशटोल स्थित स्पोर्टस क्यासलमा आयोजित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा ढुकु फुटसल हब काठमाडौंलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै डुङ्गाले उपाधि जितेको हो ।

उपाधि विजेता टोली डुङ्गाले रु तीन लाख नगद र ट्रफी पुरस्कार प्राप्त ग¥र्यो भने उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु एक लाख ५० हजार पुरस्कार पायो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षक डुङ्गाका अनिश श्रेष्ठ घोषित हुँदै रु ३५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी उदीयमान खेलाडीका रुपमा फङ्की विन्सका अविनाश तामाङ घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको अनुशासित टोलीको रुपमा स्पोर्टस् क्यासलले शिल्ड प्राप्त गर्याे ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई राष्ट्रिय खेलकूूद परिषद्(राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप बोर्ड सदस्य राजेश गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिता समापन समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । नेपाली फुटबल खेलको विकासमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

सो अवसरमा सदस्य सचिव सिलवालले निजी सङ्घ संस्थाको आयोजनामा पोखरामा फुटसलमा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता आयोजना गरिनु प्रशंसनीय रहेको बताउनुभयो ।

‘स्वास्थ्यका लागि खेलकूद’ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा देशका विभिन्न भागबाट गरी २७ टोलीको सहभागिता रहेको थियो ।

Comments
Loading...