सिर्जना कप सामुदायिक विद्यालयस्तरीय भलिबल : शान्ता मावि च्याम्पियन

हिमाली आवाज । पोखरामा सञ्चालन भएको ‘सिर्जना कप कास्की जिल्लास्तरीय सामुदायिक विद्यालय छात्र÷छात्रा’ भलिबल प्रतियोगिताको उपाधि शान्ता माध्यमिक विद्यालयले जितेको छ ।

चैत ११ देखी पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुण्डेमा अवस्थित शान्ता माविले छात्र÷छात्रा दुबैतर्फको उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।छात्रतर्फ कालिका माध्यमिक विद्यालय र छात्रातर्फ अमरसिंह माध्यमिक विद्यालयलाई पराजित गर्दै शान्ता माविले दोहोरो उपाधिसहित नगद रु ७०÷७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

शान्ताले कालिका माविलाई २५–१८, १६–२५, २५–२१ र २५–१९ अङ्क सहित ३–१ को सेटले पराजित गरेको थियो भने छात्रातर्फको फाइनल खेलमा अमरसिंहलाई २५–२१, २५–११, २१–२५ र २७–२५ अङ्क सहित ३–१ को सेटमा पराजित गरी उपाधि जित्न सफल भएको हो ।
उपविजेता बनेका कालिका र अमरसिँहले नगद रु ३५÷३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ मेश्रम वराह माध्यमिक विद्यालय घान्द्रुक र छात्रातर्फ जनप्रिय माध्यमिक विद्यालय तृतीय भए । दुबै विद्यालयले नगद रु २०÷२० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ शान्ता माध्यमिक विद्यालयका जीवन सुनार र सुभा राई सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही र पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो ।छात्रतर्फ स्पाइकरमा कालिकाका मिलन विक, सेटरमा शान्ता माध्यमिक विद्यालयका विवेक सुनार, ब्लकरमा शान्ताकै पुस्कर ठगुन्ना र डिफेन्डरमा मेश्रम वराहका निरज धिमाल उत्कृष्ट घोषित हुनुभयो ।

छात्रातर्फ स्पाइकरमा अमरसिंहका गंगा गुरुङ, सेटरमा शान्ता माविकी पूर्णिमा राई, डिफेन्डरमा शान्ता माध्यमिक विद्यालयका गंगा गुरुङ र सर्भरमा जनप्रियका विपना पुन घोषित हुनुभयो । उत्कृष्ट खेलाडीलाई पुरस्कार एक÷एक थान भलिबल प्रदान गरिएको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता विद्यालय तथा सर्वोत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

भलिबल सङ्घ र सिर्जना विकास केन्द्रले जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बीच प्रतियोगिता सञ्चालन गरेर लुकेर रहेका प्रतिभाको पहिचान गर्दे आगामी दिनमा देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको थियो ।

Comments
Loading...