मादी गाउँपालिकामा एकै दिन दुई झोलुङ्गे पुल उद्घाटन, स्थानीयवासी हर्षित

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकामा शुक्रबार एकै दिन दुई झोलुङ्गे पुल उद्घाटन गरिएको छ ।

गाँउपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोलामा निर्माण गरिएको ओल्मा झोलुङ्गे पुल र वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले उद्घाटन गर्नुभयो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष गुरुङले गाउँका जनताको पीर,मर्का बुझ्ने, दुःखमा साथ दिने गरी जनताको घरदैलोको सरकार अघि बढेको बताउनुभयो ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, मोटरेवल पुल, झोलुङ्गे पुल, वडा कार्यालय भवन लगायतका पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको उहाँको भनाई छ ।

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि हर्षित भएको सोही वडाध्यक्ष मित्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट आयोजना स्वीकृत भई गाउँपालिकाबाट पुल निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इदीखोला ओल्मा झोलुङ्गे पुल जनश्रमदान सहित कूल रु ३८ लाख ४९ हजार ६९७ र बुम्लेखोला झोलेङ्गे पुल जनश्रमदान सहित रु ३६ लाख ९५ हजार ८०८ लागतमा निर्माण गरिएको हो ।

Comments
Loading...