पोखराको मौजामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदान शिलान्यास,रु १६ करोड लगानी हुने

हिमाली आवाज । पोखरा महानगरपालिकाको सवैभन्दा उचाईमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदान लगायतका संरचना निर्माण हुने भएको छ ।

समुन्द्री सतहबाट एक हजार ६५० मिटर उचाईमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमका बीच संयुक्त शिलान्यास गर्नुभयो ।

पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकूदको अभ्यासस्थलका रुपमा विकास गर्ने गरी चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट काम शुरु गरेको हो । महानगरले पर्वतीय खेलमैदानलाई महानगर गौरवको योजनाका रुपमा लिएको छ ।

मौजाको तोयँढाप डाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल,बास्केटबल सहितका खेल पूर्वाधार निर्माणका लागि रु १६ करोडको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार गरेको महानगर प्रमुख जिसीले जानकारी दिनुभयो ।

फुटबल मैदान(इलाभेन साइड),बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा(चेञ्जिङ रुम), दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट, चमेनागृह, शौचालय लगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ ।

चालू आर्थिक वर्षमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरेकामा सो बजेटबाट खेल मैदान सम्माउने र तारबारको काम गरिने प्रमुख जिसीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धनका लागि खेल मैदानले सघाउने छ । सजिलो रुपमा पहुँच पुग्न सक्ने यस ठाउँको खेल मैदानको निर्माणमा सहयोग गर्र्नु सबै पोखरेलीको दायित्व हो ।”

मैदानबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरवस्ती तथा हरियाली जङ्गलको सुन्दरताले सो क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेकाले खेल पर्यटनको विकासमा कोशेढुङ्गाको सावित हुने महानगरले जनाएको छ ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले खेल मैदानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयोे । प्राकृतिक रुपमा सुन्दरस्थलमा खेल पूर्वाधार निर्माण हुँदा यससँगैका छिमेकी वडाहरुमा समेत विकासको ढोका खुल्ने भनाई उहाँको छ ।
खेल मैदान निर्माण सम्पन्न गरेर राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण गराउने आफूहरुको योजना रहेको सोही वडाका वडाध्यक्ष सिम गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हिमालको काखमा ग्रामीण परिवेशमा अर्गानिक परिकारका साथमा फुटबल प्रशिक्षण गराउने योजना छ । यसबाट नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा विश्वस्त छौैँ।”

Comments
Loading...