प्रविण गुरुङको स्मृतिमा लुम्लेमा भलिबल तथा खुल्ला दोहोरी प्रतियोगिता

हिमाली आवाज ।लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा कार्यक्रम जारी छ ।

कार्यक्रम अन्र्तगत मंगलवारदेखि दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७) सुरु भएको छ भने खुल्ला दोहोरी गीत प्रतियोगिता तथा स्रष्टा सम्मान शुक्रवारदेखि हुँदैछ।त्यस्तै शुक्रवारै स्वः गुरुङको शालिकको अनावरण गर्ने कार्यक्रम पनि तय भएको छ।
लुम्ले स्थित रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजको आयोजना तथा गाउँपालिकाको विशेष सहयोगमा कार्यक्रम भएको हो।जुन यहि चैत २१ गतेसम्म चल्नेछ।

प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गरिएको हो।
कार्यक्रम अन्र्तगत लेकाली व्याडको लाइभ कन्सर्ट, विविध सांस्कृतिक प्रस्तुति, स्वः धनबहादुर गायकलाई मरणोप्रान्त तथा लेकाली व्याण्डका भोकलिष्ट नविन गुरुङलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

दोहोरीतर्फ प्रथम हुने समूहले रु.२० हजार, द्वितीयले रु.१५ हजार, तृतीयले १० हजार तथा सान्त्वनालाई रु.६ हजार साथमा प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ ।त्यस्तै भलिवलमा प्रथम रु.५० हजार ५ सय ५५, द्वितीय ३० हजार ५ सय ५५, तृतीय १५ हजार ५ सय ५५ र सान्त्वना रु. ५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै वेष्ट प्लेयर, ब्लकर र सर्भिसलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

वि.स २०१८ माघ १ गते जन्मेका गुरुङको गीतसंगितको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाण्डौमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।१० वर्षको उमेरबाट घर छाडी सांगीतिक यात्रामा निस्केका गुरुङले डाँफे कला मन्दिरमा नृत्य साथै गायन सिकेका थिए।
तत्कालिन गण्डकी अञ्चल स्तरीय गायन प्रतियोगितामा प्रथम हुन सफल गुरुङले पाण्डव सुनारसँग सम्पर्क पश्चात राष्ट्रिय नाचघर काठमाण्डौमा काम पनि गरेका थिए।

स्वः गुरुङका यो दाजुको मिरमिरे आँखा, सालैजो हितैको माया, फूल मायामा नभुल, माथीबाट को आयो सालको पात बजाउँदै लगायतका गीतहरु प्रचलित छन्।

 

Comments
Loading...