विषादी रहित खेतीको नारा सहित गण्डकी प्रदेशमा विषादी प्रयोग मुक्त सप्ताह शुरु

हिमाली आवाज । गण्डकी प्रदेशमा विषादी प्रयोग मुक्त सप्ताह शुरु भएको छ । “कृषिमा समुन्नति, घातक विषादी रहित खेती”को नारा सहित आजदेखी बाली संरक्षण प्रयोगशाला पोखराको आयोजनामा सप्ताहव्यापी कार्यक्रम शुरु भएको हो । आजदेखी चैत २५ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिने छ।

सप्ताहको पहिलो दिन सरोकारवालाहरु सम्मिलित वृहत जनचेतनामूलक ¥याली विरौटाबाट शुरु भएर ड्यामसाइड हुँदै सभामा परीणत भएको थियो ।‘विषादी विष हो, औषधी होइन,अनावश्यक रुपमा विषादी प्रयोग नगरौँ, विषादीको प्रयोगबाट बचौँ’ लगायतका सन्देशमूलक प्लेकार्ड सहितको ¥याली निकालिएको थियो ।

खाद्य उत्पादनमा प्रयोग गरिने विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समेत समस्या निम्त्याउने भएकाले यसको कम भन्दा कम प्रयोग तथा यसको नकारात्मक असरबारे जनचेतना जगाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको प्रयोगशाला प्रमुख एवं बाली संरक्षण अधिकृत सुष्मा मरहठ्ठाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“विषादी प्रयोग नगर्ने भनेको होइन तर यसको आवश्यकता र मात्रा अनुसार मात्र प्रयोग गर्नुपर्दछ । अधिक विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा पार्ने असर कम गर्नका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम गरेका हौँ । ”

अधिकृत  मरहठ्ठाले व्यावसायिक खेती गर्दा विषादीको प्रयोग गर्नु आवश्यक रहेपनि न्यूनतम, न्यायोचित र सुरक्षित प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय पोखराका प्रमुख वासुदेव रेग्मीले तरकारी लगायत खाद्यान्न बालीमा विषादीको प्रयोग घटाउनुपर्ने बताउनुभयो । आयातित बीउ, बेर्ना तथा बालीको प्रयोग बढेसँगै उत्पादन वृद्धि गर्न विषादीको प्रयोग बढ्दो रहेको उहाँको भनाई छ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारी, पोखरा महानगर कृषि तथा पशुपन्क्षी महाशाखा प्रमुख मनहरप्रसाद कडरिया लगायतले व्यावसायिक कृषकलाई सचेतना प्रदान गर्न विषादी प्रयोग मुक्त सप्ताह प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

बाली संरक्षण प्रयोगशााका अनुसार सप्ताहव्यापी कार्यक्रममा सरोकारवालाहरुसँग अन्तरक्रिया,सञ्चार माध्यमबाट विषादीको अधिक प्रयोगबाट पर्ने असरका बारेमा सन्देशमुलक जानकारी प्रकाशन प्रसारण र पर्चा वितरणको कार्यक्रम गरिने छ ।

Comments
Loading...