आहा रारा गोल्डकपको फाइनल आज : संकटा र अफ्रिकन रुट्स उपाधिका लागि भिड्दै

हिमाली आवाज । पोखरामा जारी मोेफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’को उपाधिका लागि आज संकटा क्लब र अफ्रिकन रुट्स एशोसिएसन आमनेसामने हुँदैछन् ।आहा राराको इतिहासमा पहिलोपटक फाइनलमा स्थान बनाएका दुबै टोली उपाधि जित्न आतुर छन् ।

पोखरा रंगशालामा दिउँसो २ बजेपछि शुरु हुने फाइनलमा दुबैको लक्ष्य उपाधि चुम्ने हुनेछ । दुबै टोलीले सेमिफाइनलमा यसअघिका उपाधि बिजेता टोलीलाई पराजित गरेर फाइनल प्रवेश गरेकाले समेत आजको खेल रोचक हुने विश्वास लिइएको छ ।

शुक्रबार प्रि म्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि उचाल्ने लक्ष्य रहेकाले सोही अनुसार फाइनल खेलमा रणनीति तय गरिने बताएका थिए ।

यही चैत २१ गतेदेखी पोखरा रङ्गशालामा जारी १९ औँ संस्करणको प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार,ट्रफी तथा उपविजेताले रु पाँच लाख एक हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी यसवर्षदेखी राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही रु २५ हजार नगद सहित पुरस्कृत गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब सिटी’को रुपमा परिचित गराउँदै, नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।

Comments
Loading...