हिमाली आवाज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा शेखर कोइरालाले काँग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आज विहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी काँग्रेसको रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले समेत काँग्रेस नेतृत्व सबैले स्वीकार गर्ने भनाई नेता कोइरालाको छ ।
सत्तारुढ नेकपा एमाले भित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको जिकिर गर्दै उहाँले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“देशलाई निकास दिने काम काँग्रेसले मात्र गर्न सक्छ, त्यो निकास काँग्रेस नेतृत्वमा सरकार बनाईकन निर्वाचनमा जानु उत्तम उपाय हो । यदी काँग्रेस नसक्ने हो भने विकल्प दिनुपर्दछ ।”
सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको भनाई कोइरालाको छ ।
नयाँ सरकार गठनमा काँग्रेसबाट जति पहल हुनुपर्ने हो त्यो नभएको भन्दै कोइरालाले संसद् पुनःस्थापनको दिनमा काँग्रेसको बैठक बसेर सरकारको राजीनामा माग गर्नुपर्नेमा ढिलाई भएको उल्लेख गर्दै वर्तमान सरकार हटाउनका लागि जिम्मेवार बनेर सबैसँग छलफल गरी तार्किक निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसका लागि आगामी भदौमा हुने १४ औँ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पार्नुभयो ।