हरिहर गुफा सन्यास आश्रमलाई लायन्स र एगाको सहयोग

पोखरा, ३१ चैत ।लायन्स क्लब अफ पोखरा लेकसाइड र इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले आज पोखरा महानगरपालिका वडा नं २० भलामस्थित हरिहर गुफा सन्यास आश्रममा खाद्यान्न तथा सामाग्री सहयोग गरेका छन् ।

आश्रम परिसरमा आयोजित सहयोग हस्तान्तरण समारोहमा लायन्स क्लब अफ पोखरा लेकसाइडका तर्फबाट लगभग ४० हजार रुपैयाँ बराबरका युरो गार्ड सहित भान्छामा प्रयोग गरिने विभिन्न सामाग्री र इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसनका तर्फबाट ३० हजार रुपैयाँ बराबरको राइसकुकर सहित खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई सहयोग गरेको बताउँदै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

एगाका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले पोखराको नजिकै रहेको हरिहर गुफा सन्यास आश्रम धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्नेमा जोड दिनुभयो ।

क्लबका सचिव एवम् एगा पोखराका पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठले आँफूहरूको सानो सहयोगबाट आश्रमको सञ्चालनमा केही न केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

देशको पर्यटनमा एगाको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले नेपालका पहिचान खुल्ने सगरमाथा, एक सिङ्गे गैंडा आदिका चित्र छापी तयार गरिने गार्मेन्टस्ले देशको पर्यटकीय चिनारी विश्वमाझ पु¥याउन योगदान गरेको बताउनुभयो । उक्त अवसरमा श्रेष्ठ वेयर्स प्रा.लि.का सञ्चालक समेत रहनुभएका श्रेष्ठले आश्रमका १५ जना ज्येष्ठ नागरिकलाई मेरो चित्र लोगो अंकित दोसल्ला उपलब्ध गराउनुभएको थियो ।

पोखरा—२० का वडा अध्यक्ष सीमबहादुर गुरुङले हरिहर गुफा सन्यास आश्रमको समग्र विकासका लागि पहल भैरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा एगा पोखराका अध्यक्ष विश्वराज पोखरेल, स्वामी प्रियानन्द गिरी, गीता ढकाल पौडेल, नारायणप्रसाद अधिकारी, केशव सापकोटा लगायतले सामाजिक उत्तर दायित्व अन्तर्गत गरिएको सहयोग अरुका लागि पनि अनुकरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...