माछापुच्छ्रे गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभियानको शुभारम्भ

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आजदेखी व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ ।

वडा नं ७ को धम्पुसमा औपचारिक कार्यक्रम आयोजना गरी पालिकाका नौ वटै वडामा घटना दर्ता अभियान शुरु भएको घोषणा गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा पालिकामा वैशाख २ देखी १६ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान शुरु गरिएको हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उपाध्यक्ष दवाडीले भन्नुभयो,“घटना दर्ता गर्न बाँकी रहेका गाउँपालिकावासीले आफ्नो वडा कार्यालयमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ अनिवार्यरुपमा दर्ता गर्नुहोला ।”

वडाध्यक्ष समबहादुर गुरुङले राष्ट्रिय अभियान अन्तर्गतको यस कार्यक्रमलाई माछापुच्छ्रे गाउँपालिकामा सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्ने कानूनी व्यवस्था रहेको बताउँदै नगराउने पालिकावासीहरुलाई जरिवाना हुने बताउनुभयो ।

सरकारले प्रत्येक वर्ष वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवसको रूपमा र वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएकोमा यस वर्षको घटना दर्तालाई विशेष अभियानका रूपमा वैशाख १ देखि १६ गतेसम्म सबै स्थानीय तहमा सञ्चालन गर्न विशेष निर्देशन गरेको छ ।

Comments
Loading...