रगत अभाव टार्न पोखरामा तीन लायन्स क्लबबाट संयुक्त रक्तदान कार्यक्रम

हिमाली आवाज । कोरोनाको दोस्रो चरणसँगै अस्पतालहरुमा रगत अभाव हुन सक्ने भएकाले अभाव टार्न आज पोखरामा तीन वटा लायन्स क्लबहरुले संयुक्त रक्तदान कार्यक्रम आयोजना गरेका छन् । पोखराको चिप्लेढुँगामा विहान आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ५४ युनिट रगत संकलन भयो ।

लायन्स क्लब अफ पोखरा ब्लु स्काई, लायन्स क्लब अफ पोखरा मिड टाउन र लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेकामा रक्तसञ्चार केन्द्र पोखराले प्राविधि सहयोग उपलव्ध गराएको थियो ।

पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले ब्लड व्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लामिछानेले कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा आयोजना गरिएको कार्यक्रमबाट अस्पतालहरुमा रगत अभावमा तड्पिरहेका विरामीहरुलाई सहज हुने बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा ब्लु स्काईका अध्यक्ष युवराज पौडेलेको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रका महेन्द्र के.सी, लायन्स क्लब डिष्ट्रिक्ट पब्लिक रिलेशन अफिसर देवी तिमिल्सिना, डिस्ट्रिक एडभाइजर ठाकुर प्रसाद अधिकारी, ब्लड डोनेशन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, लायन्स क्लब पोखरा डायमण्डका अध्यक्ष लक्ष्मी कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष रुक्मागंत भण्डारी(विश्वास)ले सहभागीलाई स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लायन्स स्मार्ट टाउनका अध्यष लक्ष्मी शर्माले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन लायन्स क्लब अफ पोखरा मिडटाउनका सचिव लेखबहादुर केसीले गर्नुभयो ।

लायन्स क्लब अफ पोखरा ब्लु स्काईका प्रवेश गौतम, पोखरा स्मार्ट टाउनका अन्जिता बाँस्तोला र मिड टाउनका लोकनाथ भण्डारी कार्यक्रम संयोजक रहनुभएको थियो ।

Comments
Loading...