कोरोना संक्रमण बढ्यो, अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौँ । कोरोना भाइरस संक्रमण नेपालमा पछिल्लो केही दिनयता तीव्र गतिमा अघि बढेको छ ।देशभर संक्रमित बढेसँगै सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्ला दिनको तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको बताउनुभयो ।
आज मात्रै दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यही दरमा सङ्क्रमण बढ्दै गए सरकारको संरचनाले धान्न नसक्ने हुँदा आम नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा. गौतमको भनाइ छ ।

सरकारले संक्रमण बढेसँगै देशका प्रमुख शहरी क्षेत्रमा विद्यालय बन्द गराएको छ ।

Comments
Loading...