पोखरा रङ्गशालामा आजदेखी खेलकूद प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा रोक, सर्वसाधारणलाई प्रवेश निषेध

हिमाली आवाज । खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र कास्की जिल्ला खेलकूद विकास समितिले  संयुक्त रुपमा एक सूचना जारी गरी वैशाख ९ गतेदेखी लागू हुने गरी वैशाख मसान्तसम्मका लागि रङ्गशालामा खेलकूद गतिविधि सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

कोरोना सङ्क्रमणको सम्भावित दोस्रो लहरबाट सजगता अपनाउनका लागि राष्ट्रिय खेलकूद परिषद्(राखेप)को निर्देशनमा वैशाख मसान्तसम्मका लागि सबै खेलका प्रशिक्षण तथा प्रतियोगिता गर्न बन्द गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले बताउनुभयो ।

उहाँका अनुसार सरकार र राखेपको निर्णय अनुसार रङ्गशालामा खेलकूद तथा दैनिक सञ्चालन भइरहेका खेलकूद प्रशिक्षण नगर्न सबैमा सूचना जारी गरिएको हो ।

समितिले अन्तर्राष्ट्रिय सहभागिताका लागि सञ्चालित बन्द प्रििशक्षण र पोखरा रङ्गशालाभित्र निर्माणाधीन खेल पूर्वाधारका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुने जनाएको छ । पोखरा रङ्गशालाभित्र देशकै सबैभन्दा ठूलो २० हजार दर्शक क्षमताको फुटबल रङ्गशाला निर्माणको अन्तिम चरणमा छ ।

खेलकूद गतिविधिसँगै सर्वसाधारणहरुलाई रङ्गशालाभित्र प्रवेशमा समेत बन्द रोक लगाइएको छ ।गत वर्ष चैतदेखी मङ्सिरसम्म खेलकूद गतिविधि ठप्प रहेको रङ्गशालामा पछिल्लो पाँच महिना फुटबल,क्रिकेट, भलिबल लगायतका खेलका प्रतियोगिता आयोजना गरिएको थियो ।

लामो समयको शुन्यतापछि विस्तारै चहलपहल बढेको रङ्गशालामा पुनः कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले सबै प्रकारका खेलकूद प्रतियोगिता र प्रशिक्षणमा रोक लगाउने निर्णयपछि खेलाडी तथा खेलकूदकर्मी निराश बनेका छन् ।

Comments
Loading...