मादीमा प्राथमिक स्वास्थ्य केन्द्रको अत्याधुनिक भवन,दुताबासले दियो एम्बुलेन्स

हिमाली आवाज । कास्की जिल्लाको मादी गाउँपालिकाको पूर्वी भेग थुम्सीकोटमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।

विसं २०७२ देखी भाडाको घरबाट मादी–१० को थुम्सीकोटमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराइँदै आइएकोमा आफ्नै भवन निर्माण भएपछि राम्रो स्वास्थ्य उपचार सेवा प्राप्त हुने विश्वासमा स्थानीयवासी उत्साहित बनेका छन् ।सुविधासम्पन्न स्वास्थ्य केन्द्र भवनको आज पूर्वस्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले उद्घाटन गर्नुभयो ।

नेपाल सरकारको रु सात करोड ७१ लागतमा नवनिर्मित भवनमा ४६ कोठा रहेका छन् । दुई प्राइभेट र १२ जनरल गरी १४ श्यया हाल सञ्चालनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य केन्द्रबाट एक्सरे, इसिजी, प्रयोगशाला सुविधा उपलव्ध भइरहेकामा केही महिनाभित्रमा भिडियो एक्सरे सेवा शुरु गर्ने तयारी छ ।

सो स्वास्थ्य केन्द्रमा हाल तीन जना एमविविएस चिकित्सक,अहेव तीन, स्टाफ नर्स एक, प्रयोगशाला प्राविधिक एक र कार्यालय सहयोगी तीन जना कार्यरत रहेका छन् ।जिल्लाको विकट गाउँमा चिकित्सक सहित सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रवाह हुने भएपछि स्थानीयवासी खुःशी भएका छन् ।

कार्यक्रमा प्रतिनिधिसभा सांसद अधिकारीले पूर्वाधार,स्वास्थ्य र शिक्षा क्षेत्रमा मादी गाउँपालिकामा उल्लेखनिय विकास भएको बताउँदै राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग गाउँपालिका हुँदै पोखरा प्रवेश गर्ने निश्चित भएकाले जनताले थप सुविधा पाउने बताउनुभयो ।
आफू स्वास्थ्य मन्त्री हुँदा इतिहासमै पहिलोपटक देशभर १२ हजार स्वास्थ्यको दरबन्दी थप गरिएको र दुई हजार ३०० उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले केवल विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको भन्दै भइरहेका सकारात्मक कार्यको सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।जिल्ला समन्वय प्रमुख बैनबहादुर अधिकारीले पूर्वाधार विकासमा मादी गाउँपालिकाले फड्को मारेको बताउँदै अस्पतालको सेवा सुविधा विस्तारमा लाग्नुपर्नैमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले मादीकोे हेर्नलायक संरचना बनेको बताउँदै सरकारको निर्णय अनुसार वडा नं ७ को मा माथिल्लो भेगलाई लक्ष्य गरी १५ श्ययाको अस्पताल निर्माण गरिने बताउनुभयो । दुबै अस्पताललाई जनशक्ति, साधन स्रोतमा सम्पन्न बनाइने प्रतिवद्धता अध्यक्ष गुरुङको छ ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख विष्णुमायाँ पौडेल,वडाध्यक्षहरु तोरुण गुरुङ,यमबहादुर गुरुङ, मित्र गुरुङ, नेकपा एमालेका गाउँपालिका अध्यक्ष बालकृष्ण गुरुङ, जिल्ला सचिवालय सदस्य पदम पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य प्रकाश गुरुङ, माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल, राष्ट्रिय युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरुङ, जसबहादुर गुरुङ लगायतले सुविधासम्पन्न भवन निर्माण भएसँगै स्वास्थ्य केन्द्रको सेवा थप विस्तार गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी भारतीय दुतावासको सहयोगमा गाउँपालिकालाई सहयोग स्वरुप प्रदान गरिएको एम्बुलेन्स पनि आज हस्तान्तरण गरिएको छ । प्रतिनिधिसभा सदस्य अधिकारीको पहलमा सो एम्बुलेन्स गाउँपालिकालाई प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार सो एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्रमा रहने र आवश्कता अनुसार सहुलियत दरमा सेवा प्रवाह गरिनेछ ।

Comments
Loading...