मादीको एउटा विद्यालयका विद्यार्थी र शिक्षक गरी २१ जनामा कोरोना संक्रमण

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–४ स्थित धूर्व माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी गरी एकैपटक २१ ज्नामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विद्यालयका एक शिक्षकमा शुरुमा संक्रमण पुष्टि भएको थियो । शिक्षकको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा पुनः चार जना शिक्षकमा देखिएपछि विद्यार्थीमा गरिएको परीक्षणमा एक जना स्वास्थ्यकर्मी, सात जना शिक्षक, दुई स्थानीयवासी सहित २१ जनामा मंगलबार संक्रमण पुष्टि भएको मादी गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिनुभयो । सोही वडामा मात्र हालसम्म २५ जना संक्रमित भएका छन् ।

संक्रमण बढेपछि गाउँपालिकाले सबै विद्यालयमा विद्यार्थीको उपस्थितिमा गरिने शैक्षिक क्रियाकलाप बन्द गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यावश्यक सेवा बाहेक गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट सेवाग्राहीको भौतिक उपस्थितिमा प्रवाह गर्ने सेवा लगायतका अन्य कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिनुभयो ।

Comments
Loading...