कास्कीमा आजदेखी सार्वजनिक तथा निजी सवारीमा जोर विजोर लागू(हेर्नुहोस् के के सञ्चालन गर्न पाइन्छ)

हिमाली आवाज । मानिसको भीडभाड कम गर्न र आवश्यक सावधानी अपनाउन जिल्लामा वैशाख १५ गते विहान ६ बजेदेखी २१ गते राति १२ बजेसम्म यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा जोर विजोर लागू गरिएको छ ।

यसैगरी अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन हिँडडुल नगर्न सर्र्वसाधारणमा आग्रह गरिएको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले जिल्लाभित्र सञ्चालित यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधनमा जोर गते जोर नम्बरका र विजोर गते विजोर नम्बरका सञ्चालन गर्ने गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

उहाँका अनुसार यस अवधिमा एम्बुलेन्स, दमकल, खाद्यसामग्री तथा पशुपन्क्षीका दाना, फलफूल, डेरी लगायतका अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।

प्रशासनले विश्वविद्यालय, क्याम्पश, विद्यालय लगायतका सबै प्रकारका शैक्षिक संस्था, सिनेमा, हल पार्टी प्यालेस,दोहोरी साँझ, फनपार्क, रंगशाला,होटल लगायतका सेवाहरु नखोल्ने तथा सञ्चालन नगर्ने आदेश जारी गरेकोे छ ।

दैनिक उपभोग्य खाद्यान्न  र निर्माण सामग्रीका पसलहरु विहान ५ बजेदेखी साँझ ८ बजेसम्म मात्र सञ्चालन हुने तथा सो बाहेकका अन्य डिर्पाटमेन्टल स्टोर, सपिङ मलहरु बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी यस अवधिमा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत खानेपानी बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवा प्रवाहमा रोक लगाइएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा शहर समेत रहेको जिल्लामा हालसम्म नौ हजार ३०७ कोरोना सङ्क्रमित भएकामा आठ हजार ४६० जना निको भएका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमित ७२७ जना रहेका छन् ।

यसबीचमा कोरोनाबाट १२० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ९७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्र्माले जानकारी दिनुभयो ।

Comments
Loading...