हिमाली आवाज । गण्डकी प्रदेशसभामा शुक्रबार मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रश्ताव माथि निर्णय हुने कार्यसूची थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले निरन्तरता पाउने वा नयाँ सरकार बन्ने भन्न छिनोफानोका लागि हिजो मतदान हुने कार्यक्रम थियो । तर मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रश्तावमा मत दिने बताएको निर्णायक राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सदनमा नदेखिएपछि एकाएक हल्लीखल्ली मच्चियो ।
जनमोर्चाले आफ्नो सांसदको जीवन रक्षा माग गरेर सदनमा निवेदन दियो । सभामुखले संसद बैठक स्थगित गर्नुभयो । बैठक स्थगनपछि बेपत्ता भनिएका सांसद पोखराकै चरक अस्पतालको कोरोना भएर आइसीयूमा रहेको पत्ता लाग्यो । सत्तापक्षले अविश्वासको प्रश्ताव असफल बनाउन सांसद शाहीलाई बेपत्ता बनाएर बन्धक बनाएको आरोप लागेको छ ।

गण्डकीमा चर्चामा रहनुभएका उनै सांसद शाहीले आज एक जानकारी पत्र सार्वजनिक गर्दै हिजो आफू सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक विरामी भएको बताउनुभएको छ । बिरामी भएपछि भाईलाई सम्पर्क गरेर उपचारका लागि अस्पताल लैजादै गर्दा आफू बेहोश भएको सांसद शाहीले उल्लेख गर्नुभएको छ ।
“आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रमममा म बेहोश भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छ । म थप स्वस्थ्य भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्नेछु ।”शाहीले भन्नुभएको छ ।
शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति सहमति रहेको पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको उहाँको भनाई छ ।