कास्कीमा आजदेखी लकडाउन, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

हिमाली आवाज । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण बढेपछि गत वैशाख १७ गतेदेखी जिल्लामा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ ।
जिल्ला प्रशासनले सूचना जारी गरी सङ्क्रमणवट फैलावट रोक्न(चेन ब्रेक गर्न ) र नियन्त्रणका उपायहरु प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापनका लागि वैशाख २१ गते विहान ५ बजेदेखी ३१ गते राति १२ बजेसम्म थप कडाईका साथ निषेधाज्ञाको अवधि बढाएको जनाएको छ ।
यसअघि सार्वजनिक तथा निजी भाडाका सवारीमा जोर विजोर लागू गरिएकामा २१ गतेदेखी थप कडाई गर्दै अत्यावश्यक सेवा बाहेकका जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

यसैगरी निषेधाज्ञाका अवधिमा औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ घण्टा सञ्चालन हुने र दैनिक उपभोग्य खाद्यान्न,तरकारी,फलफूलका पसलहरु विहान ५ बजेदेखी ९ बजेसम्म मात्र सञ्चालन हुन पाउनेछन् । अन्य सबै प्रकारका उद्योग पसल व्यवसाय बन्द हुनेछन् ।
ढुङ्गा,गिटी,बालुवा,रड सिमेन्ट जस्ता निर्माण सामग्री बोकेका सवारी साधनहरु दिनको १ बजेदेखी साँझ ५ बजेसम्म मात्र सञ्चालन हुने व्यवस्था गरिएको जारी सूूचनामा उल्लेख छ ।

स्वास्थ्य, सुरक्षा,सञ्चार,विद्युत, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह गर्ने सेवा प्रवाह नगर्ने,बैँक तथा वित्तिय संस्थाबाट प्रवाह हुने सेवा राष्ट्र बैँकको समन्वयमा शाखा प्रवन्धकले एक चौथाई कर्मचारीको उपस्थितिमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

प्रशासनले अत्यावश्यक काममा बाहेक घर बाहिर नस्किन र हिँडडूल नगर्न समेत सबैमा आग्रह गरेको छ ।

Comments
Loading...