संसद विघटन लगत्तै राजीनामा दिन चाहेको थिएँ, प्रचण्डले रोक्नुभयो : शेरचन

हिमाली आवाज । गण्डकी प्रदेशका निर्र्वतमान प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्री केपी शर्मा ओलीको गत पुस ५ गतेको संसद् विघटन लगत्तै आफूले राजीनामा दिन चाहेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले रोकेको बताउनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पदमुक्त गरेपछि आज निवासमा पत्रकार सम्मेलन आयोजना गर्दैै शेरचनले प्रधानमन्त्रीको कदमपछि आफूले राजीनामा दिन खल्तीमा पत्र बोकेर हिँडेपनि प्रचण्डका कारणले रोकिएको बताउनुभयो । अहिलेको देशको राजनीतिक दिशानै निरकुंशतातर्फ गइरहेकाले आफूलाई पदमुक्त गरिनु निरङ्कुशताको पराकाष्ठ रहेको उहाँको भनाई छ ।

शेरचनले भन्नुभयो,“पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतिज्यूलाई पहिला ओली जी र पुन प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भएर स्वीकार गरे पनि अहिले अधिकारवीहिन खुला जेलबाट मुक्त गरिदिनुभएकामा पनि धन्यबाद ।”

देश कोरोनाले आक्रान्त भएको अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापि सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्ता लिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएकामा शेरचनले असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रदेशमा प्रमुख नियुक्तिपछि संवैधानीक मर्यादालाई पूर्ण पालना गरेको र कुनैपनि पार्टी विशेषको प्रभाव र छाँयामा काम नगरेर सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गरेको उहाँको भनाई छ ।

शेरचनले लोकतन्त्र र संघियता धरापमा पर्न नदिनका लागि यसका पक्षधरताहरु बिचको सहकार्य र एकतामा अघि बढन् समेत आग्रह गर्नुभएको छ ।

Comments
Loading...