गण्डकीका प्रदेश प्रमुख पौडेल पदबहालीको दिनमानै विवादित : राजनीतिक दलहरुद्धारा अभिव्यक्तिको विरोध

हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडेलले बुधबार पदबहालीका अवसरमा दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ ।

प्रमुख पौडेलले आफ्नो कार्यालयमा पदबहालीपछि सञ्चार माध्यममा दिनुभएको अभिव्यक्तिको राजनीतिकदलहरुबाट विरोध भएको हो ।
सभामुखको राजीनामा माग्ने बेला आयो भनेर पौडेलले दिएको अभिव्यक्ति पदीय मर्यादा, शिष्टाचार, प्रचलित ऐन, कानून, संविधान विपरित रहेको भन्दै विरोध भइरहेको छ । सरकारले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

यसैबीच साँझ गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति निकालेर प्रदेश प्रमुखको अभिव्यक्तिको कडा आपत्ति जनाएका छन् ।

पदबहालीको क्रममा प्रमुख पौडेलले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको भनि दिएको प्रतिक्रिया सर्वथा गलत, भ्रामक र आपत्तिजनक रहेको दलहरुले जनाएका छन् ।

प्रतिपक्षको संवैधानिक कार्र्यबाट अत्तालिएर सत्ता पक्षको पक्षपोषण हुने गरी आएको अभिव्यक्ति अस्वभाविक र चिन्ताजनक रहेको भन्दै विज्ञप्तिमा संविधानको कुन धारा÷उपधाराले, ऐनको कुन दफा÷उपदफाले वा नियमावलीको कुन नियमले अविश्वासको प्रश्ताव निस्क्रिय हुने हो भनेर प्रश्न उठाइएको छ ।
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका दल नेता हरिबहादुर चुमान र जसपा सांसद धनमाया लामा पोखरेलद्धारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ ।
गण्डकी प्रदेशको प्रदेश प्रमुखको रुपमा नियुक्त भई पदभार ग्रहण गर्नु भएकोमा माननीय सीता कुमारी पौडेलज्यूलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौँ ।पदबहालीको क्रममा माननीय प्रदेश प्रमुखज्यूबाट अभिव्यक्त भनाईप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
संविधानको धारा १८८ को उपधारा २ ले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३०(तीस) दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लघंन गरी विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लघंन गरी विश्वासको मत नलिनु भएकोले माननीय पृथ्वीसुब्बा गुरुङको सरकार असंवैधानिक छ भनी मुख्यमन्त्री माथि अविश्वासको प्रश्ताव पेश गर्न खोज्दा विद्येयक अधिवेशन हठात् अन्त्य गरियो ।
विशेष अधिवेशनमा सत्ता पक्षले अस्वभाविक रुपमा परम्परा विपरित सदन अवरुद्ध गर्नु,प्रदेश प्रमुखको हठात् परिर्वतन लगायतका सम्पूर्ण घटनाक्रमहरु अविश्वासको प्रश्तावलाई असंवैधानिक र गैरकानूनी रुपमा निस्तेज पार्न गरिएको नियोजित कार्य हो । पदबहालीको क्रममा माननीय प्रदेश प्रमुखज्यूले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको भनि दिनुभएको प्रतिक्रिया सर्वथा गलत, भ्रामक र आपत्तिजनक छ ।
माननीय प्रदेश प्रमुखज्यूले नियम, कानून,ऐनको परिधिभित्र अविश्वासको प्रश्ताव निस्क्रिय भएको भनेर दिनुभएको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक,आपत्तिजनक र प्रदेश प्रमुख जस्तो पदको मर्यादा विपरित छ ।

प्रतिपक्षको संवैधानिक कार्र्यबाट अत्तालिएर सत्ता पक्षको पक्षपोषण हुने गरी आएको अभिव्यक्ति अस्वभाविक र चिन्ताजनक छ । संविधानको कुन धारा÷उपधाराले, ऐनको कुन दफा÷उपदफाले वा नियमावलीको कुन नियमले अविश्वासको प्रश्ताव निस्क्रिय हुने हो माननिय प्रदेश प्रमुखज्यूबाट अविश्वास प्रश्तावको प्रश्तावकहरुलाई मार्गदर्शन हुने नै छ ।

माननीय प्रदेश प्रमुख ज्यूले माननीय सभामुखज्यूले प्रदेशसभालाई लथालिँग पारेको र सभामुखको राजीनामा माग्ने घरी आइसक्यो भनेर दिनु भएको अभिव्यक्ति शक्ति पृथकीकरणको सिद्धान्त, प्रचलित मर्यादा, शिष्टाचार, प्रचलित ऐन, कानून, संविधान विपरित छ । प्रदेश प्रमुख अत्यन्त सम्मानित गरीमापूर्ण पद हुनुको साथ साथै प्रदेशको अभिभावक समेत हुने भएकाले तटस्थ र संवैधानिक दायराभित्र रहेर विचार अभिव्यक्त गर्न, कार्य निरुपण गर्न अनुरोध गर्दछौँ ।

 

Comments
Loading...