गण्डकी सरकारलाई लक्ष्मी हुण्डाइले दियो रु ५० लाखको पिपिइ लगायतका स्वास्थ्य सामग्री

हिमाली आवाज । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपको भगिनी संस्था लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई आज रु ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी हुण्डाईका प्रवन्धक भीमसिँह खत्रीले सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।कोरोना उपचारका बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक एक हजार ८०० सेट पिपिई लगायतका स्वास्थ्य लक्ष्मी हुण्डाइले सहयोग गरेको हो ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र सङ्क्रमण रोकथाममा मद्धत पुगोस् भनेर हुण्डाइ मोटर्स कम्पनी दक्षिण कोरियाको सहयोगमा रु ५० लाख मुख्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रवन्धक खत्रीले जानकारी दिनुभयो ।

हुण्डाईले गत वर्ष प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम,नियन्त्रण र उपचार कोषमा रु एक करोड र ‘फिभर क्लिनिक’ स्थापनाका लागि पनि सहयोग उपलव्ध गराएको थियो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री पुनले हुण्डाई कम्पनीले स्वास्थ्यकर्मीले प्रयोग गर्ने गरी पिपिइ सेट उपलव्ध गराएकामा आभार व्यक्त गर्दै प्राप्त सामग्रीको सही सदुपयोग गरिने बताउनुभयो ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण वृद्धिभएसँगै अक्सिजन सिलिण्डको अभाव भएकाले सहयोगी संस्थाबाट सहयोगको अपेक्षा सरकारले गरेको बताउनुभयो ।

मन्त्रालयका सचिव विनोदबहादुर कुँबरले पिपिइ सेट आवश्यकताका आधारमा प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य संस्थामा खटिएका स्वास्थ्यकर्मीहरुका लागि उपलव्ध गराइने जानकारी दिनुभयो ।

लक्ष्मी ग्रुपले विभिन्न प्राकृतिक विपत्ति तथा प्रकोपहरुमा समेत सरकारलाई सहयोग गर्दै आएको छ । यसका साथै पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण, रेडक्रस सोसाइटीलाई सहयोग,विद्यालय भवन पुनःनिर्माण लगायतमा सहयोग गर्दै आएको जनाएको छ ।

Comments
Loading...