कास्की प्रहरीद्धारा अक्सिजन सिलिण्डर सङ्कलन गरेर उद्योगलाई हस्तान्तरण

हिमाली आवाज । अस्पतालहरुमा कोरोनाका बिरामीको उपचारका लागि अत्यावश्यक अक्सिजन सिलिण्डर अभाव भएपछि कास्की प्रहरीले खाली सिलिण्डरको खोजी शुरु गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गईरहेको र अक्सिन सिलिण्डरको अभाव बढेपछि प्रहरीले सो अभियान शुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुबाट अस्पतालहरुमा पठाउने गरी आज १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको छ ।

मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानहरुबाट सङ्कलन गरी अक्सिजन उद्योगलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी जिल्लामा अक्सिजनको खाली सिलिण्डर अभाव भएको भन्दै सम्बन्धित कम्पनीहरुमा तत्काल बुझाउन आग्रह गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, बिभिन्न अक्सिजन उत्पादन कम्पनी तथा स्थानीय जनप्रतिनिधिहरुसँगको सहकार्यमा सङ्कलन गरिएका उक्त अक्सिजन ग्यास सिलिण्डरहरु पछि सम्बन्धित संस्था तथा कम्पनीहरुलाईनै फिर्ता गर्ने गरी हाल कोरोना सङ्क्रमितको उपचारको लागि प्रयोग गरिने बताइन्छ ।

”अक्सिजनको अभावले बिरामीहरु मर्न नपरोस भनेर पूर्व तयारी अनुरुप कम प्रयोजनमा रहेका अक्सिजन सिलिन्डरहरु सङ्कलन गर्ने कार्य शुरु गरेका छौँ । अत्यावश्यक भएका अस्पतालहरुसँग सहकार्य गर्दै प्रयोगमा ल्याउने छौँ ।” प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो ।प्रहरीले खाली अक्सिजन सिलिण्डरहरु छन भने अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराई सहयोग गर्न समेत आग्रह गरेको छ ।

 

Comments
Loading...