गण्डकीमा बहुमतको सरकार बन्ने सम्भावना कमजोर,मुख्यमन्त्रीमा गुरुङको निरन्तरता !

हिमाली आवाज । गण्डकी प्रदेशमा दुई वा दुई भन्दा बढी दलको सर्मथनमा बहुमतिय सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय घर्किदै जाँदा काँग्रेस नेतृत्वमा बहुमतको सरकार गठनको सम्भावना कमजोर बनेको छ ।

गण्डकीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा काँग्रेस नेतृत्वमा सरकार बनाउन तयार नभएपछि  विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षर जुटाउन सकेका छैनन् ।जसले गर्र्दा विपक्षी गठबन्धनको बहुमतको सरकार गठनको सम्भावना टर्दै गएको छ ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले वैशाख २६ गते तीन दिनको समय दिएर बहुमतिय सरकारका लागि आह्वान गरेपनि काँग्रेस, माओवादी केन्द्र र जनतासमाजवादीले मंगलबार साँझ सम्मपनि बहुमत जुटाएर प्रदेश प्रमुख समक्ष सरकारको दावी गर्न सकेका छैनन् ।

सरकार गठनका लागि ३१ सांसदका हस्ताक्षर आवश्यक रहेपनि जनमोर्चाका दुई सांसद सरकार बनाउन हस्ताक्षरका लागि तयार भएपनि थापा तयार हुनुभएको छैन । जनमोर्चा सांसद थापाले पार्टी केन्द्रको निर्णयलाई चूनौती दिँदै आफू पृथ्वीसुब्बा गुरुङको पक्षमा रहेको बताउनुभएको छ ।

संसदमा नेपाली काँग्रेसको १५, माओवादीको ११, जसपाको दुई मत छ । जनमोर्चाका दुई सांसदले हस्ताक्षर गरेपनि सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन ।

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रश्ताव गरेर जाने विपक्षीको तयारी रहेपनि बहुमत नपुग्दा निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङनै पुनः मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ । प्रदेश प्रमुखले दिएको भोली साँझ ४ बजेसम्म विपक्षी पार्टीले सरकारको दावी गर्न नसके संसदमा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता गुरुङनै पुनः मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।

विपक्षी गठबन्धनले पनि अब वैकल्पिक सरकार बन्ने सम्भावना न्यून रहेको जनाएको छ । कुनै चमत्कार भएमात्र अब काँग्रेस नेतृत्वमा सरकार बन्ने उसको भनाई छ ।

Comments
Loading...