कास्की प्रशासनको आदेश : स्थानीय तहको समन्वयमा मात्र कोरोना सम्बन्धी कार्य गर्नु

हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोनासँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गर्दा स्थानीय तहको समन्वयमा मात्र गर्न आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गरी अस्पतालका कोरोना सङ्क्रमित विरामी तथा आइसोलेशन सेन्टर निर्माण तथा सञ्चालन गर्ने जस्ता कार्यहरु सञ्चालन, सङ्क्रमित विरामी तथा तिनका कुरुवाहरुलाई खानपानको व्यवस्था र राहत वितरण गर्ने कार्यहरु गर्दा समन्वय गर्न आग्रह गरेको हो ।
यस्ता कार्यहरु एकद्धार नीति अन्तरगत जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को निर्णय एवं स्थानीय तहको समन्वयमा मात्र सञ्चालन गर्नुपर्ने राष्ट्रिय नीति रहेको समेत प्रशासनले सबैमा अवगत गराएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणका लागि जिल्लामा गत वैशाख १५ गतेदेखी निषेधाज्ञा जारी गरी हिँडडुल,व्यापार व्यवसाय र यातायात सञ्चालनमा रोक लगाइएको र सोको प्रभावकारी कार्यान्वयन भइरहेको प्रशासनले जनाएको छ ।

जिल्लामा पहिलोपटक वैशाख १५ देखी २१ गतेसम्म लगाइएको निषेधाज्ञा दोस्रोपटक थप गरी वैशाख ३१ गते राति १२ बजेसम्म कायम गरिएकामा पुन ः जेठ १ गते विहान ५ बजेदेखी जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको थियो ।

प्रशासनले यस अवधिमा विहानी तथा साँझको हिँडाईसमेत नगर्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।

Comments
Loading...