पोखरा महानगर खेलकूदको बागडोर दीपक गोदारलाई

हिमाली आवाज । पोखरा महानगर खेलकूद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त हुनुभएको छ ।

पोखरा महानगरपालिका–१७ निवासी गोदारलाई महानगर खेलकूद विकास ऐन २०७५ को दफा ३ अनुसार कार्यपालिका बैठकको निर्णयानुसार आज अध्यक्ष पदमा नियुक्त गरिएको महानगर शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पर्यटकीय शहर पोखरामा खेलकूद विकास तथा खेल गतिविधिको अभिवृद्धिका लागि महानगरले खेलकूद ऐन तयार गरेको थियो । अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ ।
नवनियुक्त अध्यक्ष गोदार राष्टिय तथा अन्तर्राष्टिय खेलाडी सङ्घ कास्कीको अध्यक्ष र मोयाथाई किक बक्सिङ्गका प्रशिक्षक हुनुुहुन्छ । उहाँ कराँतेका अन्तराष्ट्रिय पदक विजेता खेलाडी समेत हुनुहुन्छ ।

अध्यक्षमा नियुक्तभएपछि गोदारले आफ्नो उर्जाशील समय खेलकूदमा समर्पित गरेको बताउँदै पोखरालाई खेलकूद नगरिको रुपमा चिनाउन र खेलाडी उत्पादनमा विशेष काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।अध्यक्ष गोदारले यसअघि जिल्ला खेलकूद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

गोदार नेकपा एमाले निकट खेलकूद महासङ्घ कास्कीको संयोजक समेत हुनुुहुन्छ ।नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले विसं २०७५ मा आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गोदार उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको थियो ।

उहाँको प्रशिक्षणमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका थिए ।
विसं २०७६ मा प्रदेश नं ५(हालको लुम्बिनी प्रदेश) मा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा गोदारको प्रशिक्षणमा गण्डकी प्रदेशले कराँते तर्फ च्याम्पियन बनेको थियो ।

Comments
Loading...