मुख्यमन्त्री गुरुङद्धारा स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण, स्वास्थ्य सामग्रीका लागि ७२ पालिकामा रकम विनियोजन

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।
सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हाल्नुभएको हो ।

पदबहालीका क्रममा उहाँले स्वास्थ्य सुरक्षा सामग्री सहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागको आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा रु पाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

कोरोना सङ्क्रमितहरुको उपचारका लागि अक्सिजन सहितको कोभिड–१९ केयर युनिट(आइशोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार,अक्सिजन पाइपलाइन जडान,अक्सिजन सिलिण्डर खरीद,फेस मास्क,पल्प अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरिएको बताइन्छ ।
पदबहालीपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरीद र भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।

पिसिआर परीक्षणको नतिजा आउन ढिलाई भएकाले समेत सङ्क्रमण तीव्र रुपमा फैलिएको बताउँदै उहाँले पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिनुभयो ।

सरकारले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने र स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने योजना रहेको बताउँदै मुुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

कोभिड १९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वयन गरी प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो,“यो सङ्कटको बेला हो,युद्धको बेला हो । महामारीलाई परास्त गर्न सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।”

Comments
Loading...